लकडाउनमा झनै कडाइ: गल्लीमा निस्किए पनि पक्राउ गरिने

काठमाडौं, जेठ १ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘लकडाउन’मा झनै कडाइ गर्ने भएको छ । गृह मन्त्रालयको निर्देशनपछि काठमाडौं प्रशासनले विभिन्न बहानामा घरबाट निस्कने तथा बिनाकाम टोलटोलका गल्लीमा घुम्ने व्यक्तिलाई पक्राउ गर्ने भएको हो ।

 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार काठमाडौंका मूल सडक, भित्री सडक र गल्लीमा विभिन्न बहानामा मानिसको अनावश्यक भीड हुने गरेको पाइएकाले जथाभावी निस्किए सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कारबाही गर्नेछन् ।

 

‘काठमाडौंका मूल सडक, भित्री सडक र गल्लीमा विभिन्न बहानामा मानिसको अनावश्यक भीड हुने गरेको पाइएकाले जथाभावी निस्कनेलाई प्रचलित कानुनअनुसार नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्ने अधिकार सुरक्षाकर्मीलाई दिइएको छ,’ आचार्यले राजधानीसँग भने ।

 

यसैगरी, जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि जारी गरेका ईपास र पहेँलो पाससहित सबै पासलाई खारेज गर्ने निर्णय गर्दै पासको औचित्यका आधारमा नीलो रंगको नयाँ पास लागू गर्ने निर्णय गरेको छ ।

 

प्रशासनले अत्यावश्यक अवस्थामा निर्माण सामग्री बोकेका सवारी साधनलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र सञ्चालन अनुमति दिएको छ भने एम्बुलेन्स, शववाहन, औषधि तथा स्वास्थ्य सामग्री, पेट्रोलियम पदार्थ, ग्यास, सबै खाद्य वस्तु, तरकारी तथा फलफूल बोक्ने गाडीले भने बिनापास नै आवागमन गर्न पाउनेछन् । अत्यावश्यकबाहेकका सवारी र पैदलयात्रुसमेत पासबिना काठमाडौं प्रवेश गर्न पाउनेछैनन् ।

 

सवारी पास आवश्यक पर्ने व्यक्ति तथा संस्थाले आफ्नो नियामक निकायमा सम्पर्क गर्न र नियामक निकाय नतोकिएकाले मात्रै जिल्ला प्रशासन कार्यालयबाट पास लिन सक्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । राजधानी दैनिकमा खबर छ।