वन क्षेत्रमा काम गर्ने महिलाहरूको जुम मिटिङमा पोर्न भिडियो शेयर भएपछि..

काठमाडौ,जेठ ९। वन क्षेत्रमा काम गर्ने महिला प्राविधिकहरूको सञ्जाल ‘महिला वन प्राविधिक सञ्जाल’ ले साप्ताहिकरूपमा जुममार्फत वेविनारको आयोजना गर्दै आइरहेको थियो ।

 

यस हप्ता ‘वन क्षेत्रमा लैंगिक तथा सामाजिक समावेशीकरण : परिवेश, चुनौती र अवसर विषय’ को वेविनारमा छलफल हुँदै थियो ।

वेविनारमा प्रस्तुत विषयमाथि छलफल चलेको केही क्षणमै एक अपरिचित आईडीबाट अश्लील भिडियो (पोर्न) शेयर भएको वेविनारमा सहभागी एक महिला प्राविधिकले जानकारी दिइन् ।

 

‘साप्तहिकरूपमा सञ्चालित हुने वेविनारको योपटकको छलफलमा भएको घटनाले हामीलाई दुःखी तुल्याएको छ’, उनले भनिन्– ‘यस्तो कार्यको जति विरोध गरे पनि कम हुन्छ ।

 

वेविनारमा विद्यार्थीदेखि अन्तर्राष्ट्रिय लैंगिक विज्ञहरूसमेत सहभागी थिए । पाँच जना पुरुषसहित २ सय ७८ जनाले वेविनारमा सहभागिता जनाएका थिए । त्यस दिन अपरिचित आईडीलाई होस्टले पनि नियन्त्रण गर्न नसक्ने गरी अश्लील भिडियोको सम्प्रेषण भएको ती सहभागीले बताइन् ।

 

उक्त घटना जेठ ३ गते सांझ ८ बजे भएको पनि ती सहभागीले जानकारी दिइन् ।

‘हामी वेविनारमा छलफलमै थियौं । अपरिचित आईडीबाट एक्कासी पोर्न भिडियो शेयर भयो । होस्टले नियन्त्रण गर्न धेरै प्रयास गरे तर सफल हुन सकेनन् ।’ –उनले भनिन् ।

 

ती महिला प्राविधिकका अनुसार भिडियोका साथै पुरुषको आवाजमा नेपाली भाषामा बोलेका अश्लील वाक्यांश र महिलालाई गालीसमेत गरिएको थियो ।

 

यस्तो कार्य महिला वन प्राविधिक सञ्जालको अस्तित्वमाथिको प्रहार मात्र नभई यौनजन्य दुव्र्यवहारका साथै समग्र मानवीय सभ्यताकै उपहास भएको सञ्जालले जनाएको छ ।

 

‘वेविनारमा गरिएको उक्त हर्कतलाई विकृत मानसिकता भएका व्यक्तिहरूले घृणित, परपीडक मानसिकता बोकेर यस सञ्ञ्जालप्रति आक्रमण गर्न खोजेको रूपमा हामीले बुझेका छौं ।’ –सञ्जालले विज्ञप्ति जारी गर्दै भनेको छ ।

 

‘एक सभ्य समाजमा यस्ता व्यवहार अमान्य र कानुुनद्वारा दण्डनीय हुन्छन् । उपरोक्त घटनाले हामीलाई थप संगठित, बलियो तथा प्रतिबद्ध बनाएको’ भन्दै सञ्जालले त्यस्तो तुक्ष व्यवहार भत्र्सना गरी खेद प्रकट गरेको छ ।

 

यसरी प्रविधिको दुरुपयोग गरी त्यस्तो कर्तुत गर्ने घटनाका विरुद्धमा कानुुनी उपचारमा जाने सञ्जालले जानकारी दिएको छ।

 

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा.सिन्धु ढुंगानाले यस विषयमा प्रतिक्रिया दिँदै ‘उक्त घटनाले आफूलाई दुःखी बनाएका’ बताउनुभयो । ‘वेविनारमा वास्तवमै हमला भएको थियो । यस्ता कार्यमा संलग्नलाई कडाभन्दा कडा कारबाही हुनुपर्दछ । कानुुनी प्रक्रियामा जानुपर्दछ ।’ –उहाँले भन्नुभयो ।नेपाल समचारपत्रमा खबर छ।