पूर्वराजाको चित्र अंकित नोट अब देखि नचल्ने

काठमाडौं, जेठ १२ । नेपाल राष्ट्र बैंकले सफा नोट नीति कार्यान्वयनमा ल्याएको छ । ४ वर्ष अघि ल्याइएको सफा नोट नीतिलाई लागु गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सफा नोटहरु मात्रै बजारमा पठाउन पाउनेगरी नयाँ ब्यवस्था गरेको हो ।

 

राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै बैंकहरुले झुत्रिएको, मक्किएको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर र चित्र नबुझिने, रंग लागेको, पूर्व राजाको तस्वीर भएको चित्रलाई समेत चलनचल्तीका लागि अयोग्य हुने जनाएको छ ।

 

बैंकहरुले आफूसँग प्राप्त हुन आएको रकमलाई मेसिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टर भुक्तानीबाट चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन भागमा छुट्याउनुपर्ने र तीन प्रकारको नोटलाई क्रमशः हरियो, सेतो र रातो रंगको क्लिप प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।

 

त्यस्तो क्लिप गर्ने बैंकका कर्मचारीको नाम, परिचयपत्र नम्बर, हस्ताक्षर र मितिसहितको विवरण राख्नुपर्ने व्यवस्था गरिएको छ । रातो क्लिप भएका नोटलाई बजारमा पठाउन पाइने छैन ।