लोक सेवाको अन्तरवार्तामा सहभागी हुन पीसीआर रिपोर्ट अनिवार्य बुझाउनुपर्ने

काठमाडौँ,जेठ २०। लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सोसरहको प्राविधिक तथा अप्राविधिक पदका विभिन्न विज्ञापनको द्वितीय चरणको परीक्षा र अन्तरवार्तामा सहभागी हुने उम्मेदवारले अन्तरवार्ताअगावै पीसीआर परीक्षणको रिर्पोट बुझाउन सूचित गरेको छ ।

 

आयोगले मंगलबार सूचना जारी गरी आफ्नो परीक्षामा सहभागी हुन आउने उम्मेदवारहरूलाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य रूपमा पेस गर्न भनेको छ ।

 

प्रस्तुतीकरण र अन्तरवार्तामा सहभागी हुने उम्मेदवारमध्ये काठमाडौँ उपत्यका बाहिर कार्यरत रहेका वा काम विशेषले लकडाउन अवधिमा उपत्यका बाहिर गई आएका भएमा कोभिड- १९ पीसीआर परीक्षणको सक्कल रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तरवार्ता तथा सिफारिस शाखामा अनिवार्य बुझाउन सूचना जारी गरिएको हो ।

 

आयोगले सोमबार विज्ञप्ति जारी गरी सहसचिव वा सो सरह (प्राविधिक÷अप्राविधिक)को परीक्षा र अन्तर्वार्ताका लागि नयाँ कार्यतालिका जारी गरेको छ ।