तार, सिलिन्डर र पाइपमा गुणस्तर चिह्न अनिवार्य

काठमाडौँ, साउन १२। सरकारले हाउस वाइरिङ तार, ग्यास सिलिन्डरमा जोडिने पाइप, जस्तापाताले अबदेखि अनिवार्य रूपमा नेपाल गुणस्तर (एनएस) चिह्न लिनुपर्ने भएको छ । यी वस्तुले आम नागरिकको जीउ ज्यानसँग प्रत्यक्ष सम्बन्ध राख्ने हुँदा गुणस्तरमा समस्या नहोस् भन्नका लागि सरकारले एनएस चिह्न अनिवार्य गरेको हो ।

 

गत साताको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसअघि यी उत्पादक उद्योगले एनएस चिह्न लिने व्यवस्था भए पनि अनिवार्य वा बाध्यकारी व्यवस्था गरिएको थिएन । त्यसैले यी र यस्ता वस्तु उत्पादन गर्ने थोरै उद्योगले मात्रै एनएस चिह्न लिएका छन् ।

 

नेपाल गुणस्तर प्रमाणपत्र चिह्न प्रमाणित गर्ने काम नेपाल नापतौल तथा गुणस्तर विभागले गर्दै आएको छ । सो विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सरकारको नयाँ निर्णयअनुसार राजपत्रमा छापिएर आएपछि यी वस्तुलाई अनिवार्य रूपमा एनएस चिह्न दिने प्रक्रिया सुरु हुने बताउनुभयो । सरकारले निर्णय गरेका विषय राजपत्रमा छापिन समय लाग्न सक्ने भएकाले यति समयदेखि सुरु हुन्छ भनेर भन्न आफूलाई अहिले अप्ठ्यारो हुने उहाँको भनाइ छ ।

 

विभागका अनुसार सरकारले अनिवार्य गरिएका यी वस्तुमध्ये एलपी ग्यास सिलिन्डरको पाइपका लागि चार भारतीय उद्योग र जस्तापाताको चारवटा नेपाली उद्योगले मात्रै अहिलेसम्म एनएस चिह्न लिएका छन् । यस्तै हाउस वाइरिङ तारका २५ वटा उद्योगले एनएस चिह्न लिएको सो विभागले जनाएको छ ।

 

महानिर्देशक पुडासैनीले यी उत्पादनका यति नै छन् भन्ने जानकारी नभए पनि थुप्रै उद्योगले यी वस्तु उत्पादन गरिरहेको तर बाध्यकारी व्यवस्था नहुँदा कारबाही गर्न पनि समस्या भएको बताउनुभयो । यो व्यवस्था लागू भएपछि एनएस चिह्न लिन नमान्ने उद्योग वा कम्पनीलाई कारबाही गर्न सकिने पनि विभागले जनाएको छ ।

 

विभागमा यी वस्तु मानिसको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले पछिल्लो समयमा गुणस्तरका बारेमा धेरै नै गुनासो आउने गरेको थियो ।गारखापत्र दैनिकमा खबर छ।