चल्तीको भाउभन्दा १५ रुपैयाँ बढी तोकियो पानीको मूल्य

काठमाडौँ,साउन २७। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार पानीको मूल्य निर्धारण गर्ने घोषणा गरिरहँदा विभागकै केही कर्मचारी भने खुसी थिएनन् । उनीहरू जारको पानीको मूल्य बढेकोमा दुःखी देखिन्थे । ‘एक जारको ३५ रुपैयाँ तिर्दै आएका थियौं । अब प्रतिजार ५० रुपैयाँ तिनुपर्ने भयो,’ विभागका एक कर्मचारीले भने, ‘हाकिमहरूले खाने बोतलको पानीको मूल्य घट्यो, हामी सर्वसाधारणले प्रयोग गर्ने जारको बढ्यो ।

 

ती कर्मचारीसँगै अनुगमनमै हिँड्ने अर्का कर्मचारीको पनि उस्तै दुःखेसो छ । ‘एक लटमा ८/१० वटा जार किन्ने गरेको छु,’ अर्का कर्मचारीले भने, ‘एक जारको ३० रुपैयाँभन्दा बढी पाइँदैनथ्यो । मूल्य तोकेपछि थप २० रुपैयाँ तिर्नुपर्ने भयो ।’ पानी बिक्री गर्ने कम्पनी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता हुन्छन् । खाद्यको इजाजतपछि उनीहरूले जार र बोतलमा पानी बिक्री गर्दै आएका छन् । विभागका अनुसार मुलुकमा ३ सयभन्दा बढी कम्पनीले पानी उत्पादनका लागि इजाजत लिएका छन् ।

 

ती प्रायः कम्पनीले उत्पादन गरेको पानी उपभोक्तासम्म पुग्दा औसतमा ३५ देखि ४० रुपैयाँसम्म पर्छ । विदेशी कम्पनीहरूको हकमा करिब १ सय रुपैयाँसम्म पर्छ । तर सर्वसाधारणले स्वदेशी कम्पनीकै पानी प्रयोग गर्ने भएकाले एउटा जारको मूल्य औसतमा ४० रुपैयाँ पर्छ । तर व्यवसायीको मिलोमतोमा उपभोक्तालाई भार पर्ने गरी जारको पानीको मूल्य बढाइएको छ ।

 

नेपाल बोटलर्स वाटर एसोसिएसन स्रोतका अनुसार एक जारको लागत करिब २८ रुपैयाँ पर्छ । सर्वसाधारणलाई ३५ रुपैयाँमा बिक्री गर्ने गरिएको छ । तर पानीको मूल्यमा एकरूपता ल्याउने जनाउँदै वाणिज्य विभागका निर्देशक सागर मिश्रको संयोजकत्वमा गठित कार्यदलले उपभोक्तालार्ई बेवास्ता गरी व्यवसायीकै पक्षमा मूल्य निर्धारण गरेको छ ।

 

‘प्रशोधित पानीका जार तथा बोतलहरूको मूल्य निर्धारण’ कार्यदलमा खाद्य प्रविधि विभागका निरीक्षक अधिकृत ईश्वर सुवेदी, नेपाल बोटलर्स वाटर एसोसिएसनका महासचिव ध्रुवबहादुर गौतम, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन र वाणिज्यका निरीक्षक अधिकृत ध्रुव खनाल छन् ।

 

असार २५ मा कार्यदल गठन भएको थियो । कार्यदलले करिब २१ पानी उद्योगको स्थलगत निरीक्षण गरेर तयार पारेको प्रतिवेदनमा जारको पानीको खुद्रा मूल्य ५० रुपैयाँ र बोतलको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको छ । ‘उद्योगको निरीक्षणपछि साउन २३ मा सागर मिश्रको संयोजकत्वमा बसेको बैठकले प्रशोधित पानीको जारको अधिकृतम खुद्रा मूल्य ५० रुपैयाँ र बोतलका अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ प्रतिबोतल निर्धारण गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

 

‘काठमाडौं उपत्यकाका ३ जिल्ला र काभ्रेपलाञ्चोकमा ०७७ भदौ १० देखि लानु हुने गरी कायम गरिएको छ ।’ विज्ञप्तिमा उद्योगले निर्यात गर्न उत्पादन गरेको र विशेष प्रकृतिको सिलबन्द प्रशोधित पानीको हकमा समायोजन मूल्य कायम नहुने जनाइएको छ ।

 

सरकारले ५० रुपैयाँ तोके पनि प्रायः पसलले ३५ देखि ४० रुपैयाँमा जारको पानी बिक्री गरिरहेका छन । बजारको भन्दा बढी तोक्दा सरकारबाटै ठगिएको अनुभूति भएको तारकेश्वर निकासी राजु रानाभाटले बताए । एक जारको ३० रुपैयाँ मात्रै तिर्ने गरेको उनले सुनाए । ‘अहिलेसम्म ३० रुपैयाँ तिरेको छु, सरकारको नीतिले थप २० रुपैयाँ तिर्न बाध्य बनाउने देखियो,’ उनले भने ।

 

आफूले ३० रुपैयाँमा खरिद गरेर ४० रुपैयाँमा बिक्री गर्ने गरेको अनामनगरस्थित एक खाद्य स्टोरका सञ्चालकले बताए । ‘शिवपुरी ड्रिंकिङ वाटरबाट प्रतिजार ३० रुपैयाँमा किनेर ४० रुपैयाँमा बिक्री गरिरहेका छौं,’ नाम उल्लेख गर्न नचाहने उनले भने ।

 

डिल्लीबजार पीपलबोटस्थित सिग्देल किराना स्टोरका सञ्चालक भीमसेन सिग्देलले पनि बजारमा मूल्य सस्तो रहेको पुष्टि गरे । उनले खाद्यान्नबाहेक पानी पनि बिक्री गर्दै आएका छन् । प्रतिजार २५ रुपैयाँमा खरिद गरेर ३५ रुपैयाँदेखि ४० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनले जानकारी दिए ।

 

गर्मी सिजनसँगै पानीको खपत बढ्छ । यही बेलामा उद्योगीहरूले खेलबाड गरिरहेका हुन्छन् । तर गुणस्तरको अनुगमनमा जोड दिनुभन्दा उपभोक्तालाई नै भार पर्ने गरी बजार भाउभन्दा बढी मूल्य तोक्नु खेदजनक भएको बिज्ञहरू बताउँछन् ।

 

विभागका अनुगमन शाखा निर्देशक एवं कार्यदल संयोजक सागर मिश्रले भने तत्कालीन वाणिज्य मन्त्रालयका सचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बैठकले गरेको मूल्य समायोजनलाई पहिलो आधार मानिएको दाबी गरे । ४ वर्षअघि जारको पानीको मूल्य ६० रुपैयाँ र बोतलको १८ रुपैयाँ तोक्ने निर्णय गरेको थियो । तर त्यति बेला कार्यान्वयनमा आएन,’ मिश्रले भने, ‘एआरपी निर्धारण गर्दा पहिलो आधार त्यसैलाई मान्यौं, त्यसपछि कम्पनी मूल्य, बोतल, बिर्कोको मूल्यलगायतलाई आधार मानेर मूल्य समायोजन गरेका छौं ।

 

कम्पनी मूल्य प्रतिजार २० रुपैयाँ, डिस्ट्रिब्युटरको मूल्य ३५ रुपैयाँ, खुद्रा मूल्य ४० रुपैयाँ र अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ राखिएको उनले जानकारी दिए । पानी कम्पनीको दूरी, भाडा र ग्राहकको घरदूरीका आधारमा पनि महँगो हुन सक्ने उनले बताए । ‘मैले एउटा जारलाई २५ रुपैयाँमा किनेको छु, । किनभने उद्योग र मेरो घरको दूरी एक किलोमिटर मात्रै छ,’ उनले भने, ‘उद्योगीलाई धन्यवाद दिन चाहन्छु । मूल्य घटाउन भनेपछि स्विकार्नुभयो ।

 

२० रुपैयाँ पर्ने बोतलको पानीको मूल्य १६ रुपैयाँमा बिक्री गर्ने सहमति भएको एसोसिएसनका महासचिव गौतमले बताए । बजारलाई सन्तुलित बनाउन मूल्य तोक्न आवश्यक भएको उनको भनाइ छ । कार्यदलका सदस्य तथा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले मूल्य निर्धारण हुँदा बिचौलिया निरुत्साहित हुने बताए । मूल्यले स्वस्थ प्रतिस्पर्धा हुने उनको भनाइ छ ।

 

‘अध्ययन गर्दा लाखौं, करोडौं लगानी गरेर पानी उत्पादन गर्ने तर न्यूनतम ८ देखि २५ रुपैयाँमा जारको पानी बिक्रीवितरण भएको छ,’ उनले भने, ‘यो भनेको उद्योगबीचको अत्यन्त अस्वस्थ प्रतिस्पर्धा हो । स्वस्थ बजारका लागि मूल्य निर्धारण आवश्यक छ ।

 

मूल्य निर्धारणको निर्णयले ९० प्रतिशत समस्या समाधान हुने विभागका महानिर्देशक नेत्र सुवेदीले बताए । यसलाई कार्यान्वयन गराउने आँट गर्नुपर्ने उनको भनाइ छ । यसमा विभागले अनुगमन गर्ने उनले बताए । ‘पानीको तह धेरै थियो । तह घटाउन खोजेका छौं, अन्यत्र पनि तह घटाउने कोसिस गरिरहेका छौं,’ उनले भने, ‘प्रिमियम पानीका विषयमा छुटै अध्ययन र छलफल गर्छौं ।कान्तिपुर दैनिकबाट,