काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपियो (जारी आदेशसहित)

काठमाडौं,भदौ, १० । काठमाडौं,ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको बैठकपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको छ ।  

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले जारी निषेधाज्ञा १७ भदौ राति १२ बजेसम्म लम्व्याउने निर्णय भएको बताए । गत ३ भदौ देखि जारी निषेधाज्ञा आज राती १२ बजेबाट सकिदै थियो ।

 

यसअघि उपत्यकास्थित नगरका प्रमुखहरू, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा अधिकारी सम्मिलित बैठकले यसअघि नै काठमाडौँ, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो। त्यही अनुसार गएराति अबेरसम्म बसेको बैठकले उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको हो ।

 

सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो । मंगलबार जिल्ला कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी) र काठमाडौंका मेयरहरुबीच भएको छलफलले पनि निषेधाज्ञा बढाउन सुझाव दिएको थियो ।

 

 

अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।

 

निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।

 

होटल, रेष्टुरेन्ट, फुटपाथ पसलसमेत बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

 

नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउ-जाउ गर्न सक्नेछन् ।