इलाम २ मा रास्वपाको धरौटी जफत

काठमाडौं। उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएको छ। इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रास्वपाले ५ हजार ५० मत मात्र ल्याएपछि जमानत जफत भएको हो।

रास्वपाका उम्मेदवार मिलन लिम्बु माओवादी केन्द्र त्यागेर उपनिर्वाचनमा उम्मेदवार बनेका थिए।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पाउन नसकेपछि लिम्बुको जमानत जफत भएको हो।

उपनिर्वाचनमा गणना भएको ६९ हजार ३७४ मतमध्ये ६८ हजार ४७२ मत सदर भएको थियो। ९०२ मत बदर भएको थियो।

मिलन पाएको मत कूल सदर मतको १० प्रतिशत नपुग्ने भएकाले उनको जमानत (धरौटी) जफत भएको हो।

इलाम २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले २७ हजार ७७२ मतसहित विजयी भएका छन्।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाए भने अर्का स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाएका छन्।