भारतीयबाट कुटिएका नेपालीको मृत्यु : कुटपिट गर्ने एकजना भारतीय पक्राउ

सप्तरी,भदौ २२ । नेपाल -भारत सीमा क्षेत्रमा भारतीयहरूको समूहकाे कुटपिटबाट एकजना नेपाली नागरिकको मृत्यु भएको छ ।
६५ वर्षीय यादवको उपचारको क्रममा आइतबार राति बि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरी जनाएकाे छ ।
भारतीय नागरिकले गत भदौ ६ गते कुटपिट गर्दा सप्तरीको डाक्नेश्री नगरपालिका वडानम्बर ६ औरही निवासी रामदेव यादव घाइते भएका थिए ।
यादवले लगाएको धानबालीमा भैंसी चराउन आएका भारतीय समूहलाई गाली गर्दा यादवमाथि कुटपिट भएको थियो ।
स्थानीयका अनुसार यादवले सीमा नजिकैको आफ्नो जग्गामा लगाएको धानबालीमा भारत बिहारको मधुवनी जिल्ला लौकहीका ७/८ जना युवक भैंसी चराउन आएका थिए ।
धानबालीमै भैंसी चराइरहेको देखेर यादव र उनका छोरा ललनले गाली गर्दा भारतीय समूहले लाठी तथा बाँसको भाटाले कुटपिट गरेको स्थानीयको भनाइ छ ।
कुटपिट गर्ने एकजना पक्राउ
कुटपिटमा संलग्नमध्ये एकजना भारतीयलाई नेपालतर्फ नै भैंसी चराउन आएको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।
पक्राउ परेका भारतको लौकहीका १९ वर्षीय प्रदीपकुमार यादवलाई इलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखेर कुटपिट शीर्षकमा मुद्दा चलाइए पनि अब ज्यान मुद्दा शीर्षकमा मुद्दा चलाइने प्रहरीले जनाएकाे छ।