उपत्यकामा निषेधाज्ञा खुकुलो बनाऊ : नाकामा सेना परिचालन गरौं ,नगरपालिका फोरमको निष्कर्ष

काठमाडौं,भदौ, २३  । काठमाडौं उपत्यका नगरपालिका फोरमले नाकाहरुमा कडाई गरेर उपत्यकाभित्र निषेधाज्ञा खुकुलो बनाउँने लैजानुपर्ने निष्कर्ष निकालेको छ ।

 

ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनको अध्यक्षतामा मंगलबार बसेको बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।

 

उपत्यका प्रवेश नाकाहरुमा भने सेना परिचालन गरेर कडाई गर्नुपर्ने उपत्यकका स्थानीय जनप्रतिपनिधिहरुको फोरमको राय छ ।अहिलेपनि जोखिम कायमै छ। तर सधैं यसो गरिरहँदा जनजीवन प्रभावित हुन्छ।

 

त्यसैले अब निषेधाज्ञा क्रमश खुकुलो बनाउदै जानुपर्छ ,उपत्यका नगरपालिका फोरमका सचिव एवम् मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले भने, ‘सार्वजनिक यातायात तत्कालै खुलाउनु हुँदैन। अरु यातायातलाई जोर बिजोर प्रणाली लागू गर्नुपर्छ।

 

त्यस्तै फोरमले काठमाडौं आउने नाकाहरुमा सेना परिचालन गर्न समेत सरकारलाई सुझाव दिएको छ।प्रहरी प्रशासन मात्रै लगाउँदा काठमाडौं आउने क्रम नरोकिएकाले सेना परिचालनका लागि सुझाव दिइएको श्रेष्ठले बताए।नगरपालिकाको प्रशासनिक काम पनि भदौ २५ गतेदेखि सुचारु हुने उनले बताए।

 

नगरपालिका फोरमले नागरिकलाई जनस्वास्थ्यका मापदण्डबारे सचेत र जिम्मेवार बनाउँदै जाने, उद्योग, व्यवसाय र कलकारखाना सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने, सवारी साधन जोर बिजोर गराउने, सार्वजनिक सवारी हाललाई सञ्चालनमा नल्याउने लगायत निर्णय भएका छन्।