सात ट्रेड युनियन महासंघको संयुक्त बैठक ललितपुरको कुपोन्डोलमा सम्पन्न

काठमान्डौ,भदौ ३१। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघलगायतका ७ ट्रेड युनियन महासंघको संयुक्त बैठक अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको कार्यालय कुपोन्डोल, ललितपुरमा सम्पन्न भएको छ ।

 

बैठकले संयुक्त संघर्षलाई थप सशक्त र प्रभावकारी ढङ्गले अघि बढाउने निर्णय गर्दै न्युनतम सामन्तवाद र साम्राज्यवाद विरोधी कित्तामा रहेका ट्रेड युनियन महासंघहरुको बिचको कार्यगत एकतालाई खुल्ला राख्दै मजदुर वर्गको हक अधिकार र व्यवस्थाको पक्षमा संघर्ष अघि बढाउने निर्णय गरेको छ ।

 

राष्ट्रिय स्वाधीनताको प्रश्न जटिल बन्दै गएको निष्कर्ष सहित एमसीसी लगायत सम्पुर्ण राष्ट्रघाति सन्धि सम्झौताको विपक्षमा उभिने र आवश्यक आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ ।


यसैगरी बैठकले राज्य र पुँजिपति वर्गले उत्पीडित मजदुरहरुको संकटलाई पुर्णतः सम्बोधन गर्न नसकेको निष्कर्ष निकाल्दै संयुक्त पत्रकार सम्मेलन र मजदुर पक्षीय बृहत अन्तरक्रिया मार्फत यसको भण्डाफोर गर्ने र सम्पुर्ण उत्पीडित मजदुर वर्गलाई अधिकार प्राप्तिको संघर्षका लागि तयार रहन अपिल गर्ने निर्णय गरेको छ ।

 

यो संगै मजदुर वर्गले भोगि रहेको संकटको थप अध्ययन गर्दै आगामी संघर्षको योजना निर्माणका लागि महासचिव स्तरीय कार्यदल गठन गरिएको छ।

मजदुरहरुको हक अधिकारको पक्षमा मजदुर संगठनहरुले विगतमा देखि नै राज्यको ध्यानाकर्षण र विरोधका कार्यक्रमहरु गर्दै आएका छन ।

 

श्रावण १६ गते र भदौ २५ गते ७ ट्रेड युनियन महासंघले संयुक्त रुपमा मजदुरको रोजगारी कटौती, तलब सुविधा कटौती र मजदुर विरोधी सम्झौताको विरुद्ध काठमाडौमा सशक्त विरोध प्रदर्शन र मजदुर विरोध सभा सम्पन्न गरेका थिए ।

 

७ ट्रेड युनियन महासंघमा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, जनता समाजवादी निकट समाजवादी ट्रेड युनियन महासंघ, नेकपा(माले) निकट प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ(पिकोन्ट), माओवादी केन्द्र निकट क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेकपा संयुक्त निकट नेपाल ट्रेड युनियन फेडेरेसन, नेकपा निकट अखिल नेपाल ट्रेड युनियन र स्वतन्त्र ट्रेड युनियन महासंघ रहेका छन ।