डा.केसीको स्वास्थ्य अवस्था झन् नाजुक

काठमाडौं,असोज १६। चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

 

भदौ १९ गते कर्णाली प्रदेशको जुम्लादेखि १९औं अनशन थालेका उनी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत छन् । उनलाई अनशनको नवौं दिनमा जुम्लाबाट नेपालगन्ज हुँदै काठमाडौं ल्याइएको थियो ।

 

शिक्षण अस्पतालको शड्ढयामा सिकिस्त अवस्थामा छटपटाइरहेका उनलाई बिहीबारदेखि ऐंठन पर्न थालेको छ । उनमा छाती दुख्ने, जिउ गल्ने, चक्कर लाग्ने, धड्कन बढ्ने, मांसपेशी दुख्नेलगायत समस्या देखिन थालेको अस्पतालले जनाएको छ । उनको उपचारमा संलग्न चिकित्सक सुवास आचार्यले डा. केसीमा अरू समस्यासँगै ऐंठन पर्न थालेको जानकारी दिए।

 

डा.केसीको रगतमा डब्लुबिसीको मात्रा, सुगर र पोटासियमलगायत तत्वको कमी देखिएको र उनलाई जुनसुकै बेला भेन्टिलेटरमा राख्नुपर्ने अवस्था निम्तिन सक्ने उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् । तत्काल अनशन नतोडाउने हो भने उनको ज्यानै तलमाथि हुन सक्ने भन्दै उनीहरू चिन्ता व्यक्त गर्छन् ।

 

विगतमा मुटुमा समस्या देखिएपछि उनी त्रिवि मनमोहन कार्डियोेथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्नासमेत भएका थिए । भोक हडतालका कारण मुटुसँगै अन्य समस्या थपिने खतरा रहेको चिकित्सकहरू बताउँछन् ।

 

सरकारले १९औं दिनमा पनि उनको माग सम्बोधन गर्न चासो देखाएको छैन । ओली नेतृत्वको सरकारले १५औं अनशनका बेला गरेको सम्झौता कार्यान्वयनमा नल्याएपछि त्यसैलाई मुख्य माग बनाएर डा. केसीले पछिल्लो अनशन थालेका हुन् । सरकार आफैंले गरेको सम्झौताप्रति गैरजिम्मेवार बनेकाले समस्या आएको नागरिक अगुवाहरूको आरोप छ ।

 

नेपाल चिकित्सक संघलगायत विभिन्न संघसंस्था र व्यक्तिहरूले डा. केसीको जीवनरक्षाका लागि पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आए पनि सरकार कानमा तेल हालेर बसेको छ ।

 

चिकित्स संघका अध्यक्ष डा. लोचन कार्कीले डा.केसीसँग वार्ता गर्न र माग सम्बोधन गर्न संघले सहजीकरणको भूमिका निर्वाह गर्न तयार रहेको जानकारी गराए पनि सरकारले कुनै प्रतिक्रिया नजनाएको बताए ।

 

नागरिकसँग कुरा गर्दै उनले डा. केसीसँग वार्ताबाट समाधान खोज्न र तत्काल जीवनरक्षाका लागि पहल नगरे संघ जस्तोसुकै कदम चाल्न तयार रहेको भन्दै सरकारलाई चेतावनी दिए । डा. कार्कीले सरकारले डा. केसीसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने विकल्प नभएको स्पष्ट पारे ।नागरिक दैनिकमा खबर छ।