सोमबार बसेको मन्त्रिपरिषद बैठकका पछिल्ला निर्णय, यस्ता छन् !

काठमाडौं,असोज २२ । सरकारले सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरू पालना गरी परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

सरकारले गत असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरू गरेको छ ।

 

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नुभएको हो । जसअनुसार, सरकारले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सक्ने गरी सैद्धान्तिक सहमति दिएको छ । कोरोना भाइरस महामारीका कारण गत चैतदेखि स्थगित भएका परीक्षा अब सञ्चालन गर्ने बाटो खुला भएको हो ।

 

त्यस्तै, बैठकले विभिन्न देशमा रहेका अवैतनिक वाणिज्यदूतको पदावधि थप गर्ने निर्णय पनि गरेको छ । यस्तै, क्याविनेटले साउदी अरब जेद्दामा रहेको राजपत्रांकित प्रथम श्रेणी प्रशासन समूह सहसचिवस्तरको दरबन्दी सार्ने निर्णय गरेको छ । उक्त दरबन्दी चीनस्थित नेपाली महावाणिज्य दूतावास छेन्दुमा स्थानान्तरण गर्ने निर्णय गरेको हो ।

 

यस्तै, मन्त्रिपरिषद्को बैठकले अधिकृतस्तरका २१ अस्थायी दरबन्दी स्वीकृत गर्ने गरेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्र र विज्ञापन बोर्डका लागि सो दरबन्दी थप्ने निर्णय गरेको हो ।

 

राष्ट्रिय सूचना केन्द्रको काठमाडौंस्थित कार्यालयका लागि सात र डिजाष्टर रिकभरी केन्द्र, हेटौंडाका लागि नौसहित अधिकृतस्तरका १६ अस्थायी दरबन्दी स्वीकृत गर्ने जानकारी गराउनुभयो । यस्तै, विज्ञापन बोर्डको लागि अधिकृतस्तरका पाँच अस्थायी कर्मचारी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको हो।

 

यसैगरी, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा कृषि मन्त्रालमा कार्यरत सहसचिव डा.योगेन्द्रकुमार कर्की र कार्यकारी निर्देशकमा नेपाल कृषि सेवा एग्री।इको। एण्ड मार्केटिङ समूहका वरिष्ठ कृषि अर्थ विज्ञ विनोदकुमार भट्टराईलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ ।

उच्च सतर्कता अपनाउन सरकारको अपिल

सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । अन्य जिल्लाको तुलनामा उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारले अपिल गरेको हो ।

 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता ज्ञवालीले उपत्यकामा संक्रमण नियन्त्रण उन्मुख नरहेकाले उच्च सतर्कता अपनाउन जरुरी रहेको बताउनुभयो । संक्रमणको दर अझ नियन्त्रण बाहिर गए ठूलो जोखिम निम्तिने उहाँले बताउनुभयो।

 

उहाँले भन्नुभयो, ‘अन्य जिल्लामा नियन्त्रण उन्मुख हुँदै गए पनि काठमाडौं उपत्यका उच्च जोखिममा छ । आधाभन्दा बढी संक्रमितको संख्या उपत्यकामै रहेको छ ।

 

नियन्त्रण उन्मुख रहेको छैन सतर्कता अपनाउनुपर्ने जरुरी रहेको छ । ४० लाख बसोबास गर्ने उपत्यकामा संक्रमण अनियन्त्रित भयो भने त्यसले ठूलो जोखिममा पु¥याउन सक्छ ।

 

आफूले सेवा दिँदा वा लिँदा व्यवसाय गर्दा, यातायातमा हिँड्डुल गर्दा, अरू खालका गतिविधि गर्दा जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउनका लागि आग्रह गर्दछु ।

 

उहाँले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै दशैँ तिहार जस्ता पर्व मनाउन पनि आग्रह गर्नुभयो । आफू स्वस्थ रहे फेरि पनि चाडबाड मनाउन सकिने भएको उल्लेख गर्दै उहाँले काठमाडौंबाट गाउँ जाने र गाउँबाट काठमाडौं आउने गर्दा कोरोनको जोखिम पनि बढ्दै जाने बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘६० मुनिकाको संक्रमण दर र मृत्यु दर पनि तुलनात्मक रूपमा कम रहेको छ । ६० वर्षमाथिको बढी रहेको छ । ओहोरदोहोर गर्दा आउन जोखिमलाई कम गर्न ध्यानमा राखौँ । आशीर्वाद बचाउँ ।हिमालय टाइम्सबाट,