सेनामा भर्ती हुन असफल भएका युवा तरकारी खेतीमा सफल

काठमाडौं, असोज २३ । विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि जारी भएको लकडाउनपछि धादिङका अधिकांश युवाहरू आधुनिक अर्गानिक तरकारी खेतीतर्फ आकिर्षत भएका छन् ।

 

उत्तरी धादिङका नेत्रावती डबजोङ गाउँपालिका–३ का बुक बहादुर गुरुङले आधुनिक अर्गानिक तरकारी खेती गरी उदाहरणीय कामको सुरुवात गर्नुभएको छ ।

 

गुरुङले स्वदेशमै केही गर्नुपर्छ भन्ने मनसायका साथ ग्रीन जोन कृषि फर्म दर्ता गरेर करिब २२ रोपनी जग्गामा १२ वटा टनेल बनाई व्यावसायिकरूपमा अर्गानिक तरकारी खेती सुरु गर्नुभएको हो ।

 

लामो समयदेखि भारतीय सैनिकमा भर्तीको लागि प्रयास गरे पनि सफल नभएपछि अहिले भारत र इलामको कृषि फर्मको अनुगमनपश्चात् यो व्यवसाय सुरु गरिएको उहाँको भनाइ छ ।

 

अन्य पेशाभन्दा यो पेशा गर्न सजिलो हुने भएकाले आफू आधुनिक अर्गानिक तरकारी खेतीमा लागेको र आम्दानी पनि राम्रो हुने बताउनुभयो ।

 

रोजगारीको सिलसिलामा युवाहरू विदेश पलायन हुन्छन् तर नेपालमै प्रशस्त आम्दानी गर्न सकिने सम्भावनाका बाटो रहेको गुरुङको भनाइ छ ।

 

स्वदेशमा गरे के हुन्न र भन्ने सन्देश दिन पनि पाँच वर्षदेखि तरकारी खेतीमै लागेको गुरुङले बताउनुभयो । २०७२ सालको विनाशकारी भूकम्पपछि करिब पाँच लाखको लागतमा सुरु भएको व्यवसायबाट अहिले वार्षिक रूपमा पाँच लाख रुपैयाँसम्म आम्दानी हुने उहाँले बताउनुभयो ।

 

१२ वटा टनेलमा अहिले गोलभेँडा, कागती, फर्सी, अलैची, सुन्तला र काक्र्रोलगायतका विभिन्न तरकारीहरू रहेका छन् । उक्त, फर्ममा उत्पादन भएको तरकारी धादिङबेसी, नुवाकोटलगायत अन्य जिल्लाहरूमा लैजाने गरेको उहाँको भनाइ छ।

१२ वटा टनेलमा गरिएको तरकारी बालीमा नेपाल सरकारलगायत अन्य संघ सस्थाहरूले कुनै पनि सहयोग नगरेको बताउँदै उहाँले सहयोग पाए अझ जिल्लाको नमूना कृषकको रूपमा परिचित हुने लक्ष्य रहेको बताउनुभयो ।

 

कृषि क्षेत्रमा आवद्ध किसानहरूको लागि सरकारले कृषि अनुदान कार्यक्रम ल्याए तापनि वास्तविक किसानले अनुदान नपाएको उहाँको गुनासो छ।हिमालय टाइम्सबाट,