विशाल ग्रुप पनि लुटधन्दामा केन्द्रित : गोरखा ब्रुअरीका बियर गुणस्तरहीन

काठमाडौं,असााेज २८। विशाल ग्रुपसहित विभिन्न कम्पनीहरू लुटधन्दामा केन्द्रित रहँदा अर्को ठूलो घराना खेतान समूह पनि यही बाटोमा देखिएको छ । खेतान समूहले उत्पादन गर्दै आएका केही प्रख्यात बियरहरू गुणस्तरहीन पाइएका छन् ।  नेपालीका मुख्य चाड पर्व सम्मुख छन् यस्तोमा मदिराजन्य पदार्थको बिक्री वितरण बढी हुने गर्छ । यही मौकाको फाइदा उठाउँदै गोर्खा ब्रुअरीका केही बियरहरू मापदण्ड पूरा नगरी बजारमा बिक्री वितरण भइरहेको पाइएको हो ।
ब्रुअरीले उत्पादन गर्दै आएको टुवोर्ग, काल्सवर्ग, गोर्खा र सानमिगल बियर न्यून गुणस्तरको रहेको पाइएको छ । बियरमा गुणस्तर नपुगेपछि आन्तरिक राजस्व विभागले नयाँ अन्तःशुल्क निर्धारण गरेको छ ।
बियर उत्पादनको क्रममा जौको मात्रा ५० प्रतिशतभन्दा कम पाइएपछि आन्तरिक राजस्व कार्यालयले विभागलाई वर्गीकरणका लागि आग्रह गरेको थियो । अन्तःशुल्क ऐनअनुसार बियर भन्ने एक मात्र वर्गीकरण छ । जसमा ५० प्रतिशत जौको मात्रा हुनुपर्छ । तर, गोरखा ब्रुअरीको उत्पादनमा जौको मात्रा पुगेको थिएन । यसरी मापदण्ड नपुगेपछि विभागले बियरको वर्गीकरण दुई भागमा गरिदिएको छ ।
५० प्रतिशत जौको मात्रा पुगेको बियरलाई साबिककै दर लागू हुने र त्यो मापदण्ड पूरा नगर्ने बियरलाई उच्च अल्कोहल हुने अन्य मदिरासरहको कर निर्धारण गर्ने वर्गीकरण गरिदिएको छ । विभागको यो वर्गीकरणसँगै जौको मात्रा नपुगेका उत्पादनमा प्रतिलिटर ४६५ रुपैयाँ अन्तःशुल्क दरबन्दी तोकिएको छ । जौको मात्रा ५० प्रतिशतभन्दा धेरै भएको बियरमा अन्तःशुल्क प्रतिलिटर १६५ रुपैयाँ मात्रै लाग्ने गरेको छ ।
गोरखा ब्रुअरीको बियरमा मापदण्ड नपुगेको पाइएपछि एक हप्ता उत्पादन बजारमा गएको थिएन । यद्यपि, अहिले भने नयाँ उत्पादन समीकरणबाट उसले उत्पादन सुरु गरिसकेको छ ।
पछिल्लो समय गोरखा ब्रुअरी कर छली प्रकरणमा विवादित बन्दै आएको छ । यसअघि गोरखा ब्रुअरीमाथि आन्तरिक राजस्व कार्यालयले कर निर्धारण गर्दा न्यायाधीशलाई प्रभावमा पारेको थियो । क्षेत्राधिकार मिचेर गोर्खा ब्रुअरीको मुद्दा लिएर फैसला गरेको भन्दै तीन जना न्यायाधीशमाथि न्यायपरिषद्ले कारबाही गरेको थियो । तीमध्ये दुई न्यायाधीशले राजीनामा दिएका थिए भने एक जनालाई बर्खास्त गरिएको थियो ।
नेपाली बियर बजारमा सबैभन्दा बढी हिस्सा ओगट्ने गोर्खा ब्रुअरीले लामो समयदेखि कर छलेको यसअघि नै पुष्टि भइसकेको छ । सो समयमा ब्रुअरीले डेढ अर्ब रुपैयाँभन्दा बढी कर तिर्नुपर्ने कर कार्यालयले गरेको अनुसन्धानमा देखिएको थियो । गोर्खा ब्युअरीको उद्योग नवलपुर जिल्लामा छ । सो उद्योग भरतपुर कर कार्यालयअन्तर्गत दर्ता छ ।