आज बडादशैँको छैटौं दिन: देवी कात्यायिनीको पूजा गरिँदै

काठमाडौं ,कात्तिक ६। हिन्दू नेपालीहरुको महान चाँड बडा दशैँको आज छैटौँ दिन हो । आजको दिनमा कात्यायिनी भगवतीको पूजा तथा अर्चना गरिन्छ ।

नवरात्रीको छैटौं दिन आज अष्टमातृका भगवतीको छैठौँ शक्तिका रुपमा कात्यायिनी भगवतीको पूजाअर्चना गर्ने परम्परा रहेको छ ।

 

आजको दिनमा कात्यायिनी भगवतीको पुजा गरेमा रोग,शोक,भय,दुख,दरिद्र जस्ता संकट नाश भई मानिस प्रगति पथमा अगाडि बढ्ने धार्मिक विश्वास रहेको पाइन्छ।

 

आजको दिन दियो, कलश र गणेशको पूजा गरी ‘कात्यायनीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ।आज देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीकोे पूजा हुन लागेको हो ।

 

 धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रूपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन देवीभागवत पुराणमा उल्लेख गरिको छ ।

 

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक परम्परा छ।