मंसिर २ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं,कार्तिक २५ । सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको शहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

 

मन्त्री श्रेष्ठले मिडिया एलायन्सका प्रतिनिधिहरुसँगको भेटमा सो कुरा जानकारी दिनुभएको हो । मंंसिर १ गते नेवार समुदायको म्हपूजा र त्यसको भोलिपल्ट मात्र नेवार समुदायले भाईटीका लगाउने भएकाले सार्वजनिक बिदा दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

 

मिडिया एलायन्ससँगको भेटमा अर्को प्रसंगमा मन्त्री श्रेष्ठले तत्काल विज्ञापन बोर्ड गठन गर्न, कोरोना संक्रमणले संचार उद्योगमा पारेको असरलाई मध्यनजर गर्दै सहुलियतपूर्ण ऋण प्रदान गर्न सरकार सकारात्मक रहेको बताउनु भयो ।

 

सरकार क्लीन फिडको पूर्ण कार्यान्वयनमा प्रतिबद्ध रहको बताउँदै मन्त्री श्रेष्ठले वर्तमान सरकार सञ्चार माध्यमसँग सहकार्य गर्न तयार रहेकोसमेत बताउनु भयो ।

 

त्यस अवसरमा एलाईन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले सञ्चार उद्योगलाई सेवा उद्योगको मान्यता प्रदान गर्न र कोरोनाको मारमा परेका सञ्चार उद्यमीलाई सहुलियतपुर्ण ऋण उपलव्ध गराउन माग गर्नु भएको थियो ।

 

एलाईन्सका महासचिव लक्ष्मण हुमागाईंले विज्ञापन रहित नीति कार्यान्वयनमा सरकारले देखाएको प्रतिवद्धताप्रति धन्यवाद ज्ञापन गर्दे संचार क्षेत्रका विद्यमान कानूनको पुनरावलोकन आवश्यक रहेको बताउनु भयो ।

 

एलाईन्सका तर्फबाट उपाध्यक्ष महेन्द्र शेरचनले सरकारी विज्ञापनको समानुपातिक वितरण हुनुपर्नेमा जोड दिनुभएको थियो भने कोषाध्यक्ष उज्ज्वल शर्माले सञ्चालनमा रहेका सञ्चार माध्यमहरुको वर्गिकरणमा जोड दिनु भएको थियो ।