नेपाली कांग्रेसले नेपाल-चीनबीचको सम्बन्ध बिगारेको चीनले लगायो गम्भीर आरोप

काठमाडौं,कार्तिक २६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल–चीनबीचको सम्बन्ध बिगारिरहेको चीनले आरोप लगाएको छ । चिनियाँ मुखपत्र ‘ग्लोबल टाइम्स’ ले कांग्रेसलाई ‘प्रो इन्डियन फोर्स’ को संज्ञा दिँदै कांग्रेसका कारण नेपाल–चीन सम्बन्ध बिग्रिदै गएको आरोप लगाएको हो ।

 

‘हु इज बिहाइन्ड द फ्याब्रिकेटेड रिपोर्टस प्रोभोकिङ्ग नेपाल एग्नेस्ट चाइना रु’ शीर्षकको ‘ग्लोबल टाइम्स’ को समाचारमा नेपाल–चीन सम्बन्ध बिगार्न कांग्रेससँगै भारत र पश्चिमा शक्तिहरु सक्रिय भएको समेत आरोप लगाएको छ ।

 

चीनले नेपालको भूमि मिचेको भन्ने ‘तथ्य बिहीन’ खबर फैलाउन कांग्रेसका नेता, पश्चिमा तथा भारतीय सञ्चार माध्यम लागि परेको ‘ग्लोबल टाइम्स’ ले दाबी गरेको छ ।

 

समाचारमा हुम्लासँग सीमा जोडिएको क्षेत्रमा चिनियाँ सेनाले नेपाली भूमि मिचेर भवन बनाएको भन्ने आरोप लगाइएको र सो खबर गोप्य स्रोत भन्दै पश्चिमा तथा भारतीय सञ्चार माध्यमहरुले प्रकाशन तथा प्रशारण गरेको उल्लेख छ ।

 

‘नेपालको प्रमुख राजनीतिक दल नेपाली कांग्रेसलाई भारत समर्थित शक्तिको रुपमा चिनिएको छ । अहिले यही दल सीमा विवादको विषयमा हल्ला फिजाइरहेको छ, समाचारमा उल्लेख छ ।

 

कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता रहनुभएका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले चीन विरोधी गतिविधिको नेतृत्व गरेकोसमेत ‘ग्लोबल टाइम्स’ ले आरोप लगाएको छ ।

 

नेता शाहीले हालै हुम्लाको चीनद्वारा अतिक्रमित सीमा क्षेत्र अवलोकन गरेर पार्टीलाई चीनले सीमा मिचेको प्रतिवेदन बुझाउनुभएको थियो । नेपालमा पश्चिमा देशहरुको गतिविधि बढ्दै गएको प्रति नेपाली बुद्धिजीविहरुले शंका व्यक्त गर्ने गरेको ‘ग्लोबल टाइम्स’ को भनाइ छ ।

 

काठमाडौंका एक स्थानीयलाई उद्धृत गर्दै ‘ग्लोबल टाइम्स’ ले गैरसरकारी संस्थाहरुले पश्चिमा देशको राजनीतिक स्वार्थमा नेपालभर गतिविधि सक्रिय पारेकोसमेत दाबी गरेको छ ।

 

केही भारतीय टेलिभिजनहरुले नेपालको सार्वभौमसत्ता विरोधी खबर प्रशारण गरेको र नेपाल–चीनबीचको सम्बन्धमा ‘खेल्न’ खोजेको आरोप पनि समाचारमा छ ।

 

नेपालका केही सञ्चार माध्यमहरु पनि भारत पक्षीय शक्तिको प्रभावमा रहेका र तिनीहरुले चीनले सीमा मिचेको खबरलाई प्राथमिकता दिएको आरोप ‘ग्लोबल टाइम्स’ ले स्रोतहरु उद्धृत गर्दै लगाएको छ ।

 

‘ग्लोबल टाइम्स’ को उक्त समाचारमा नेपाललाई ठूलो मात्रामा अदृश्य विदेशी लगानी भएको सानो देशका रुपमा चित्रण गरिएको छ । ‘धेरै अदृश्य वैदेशिक लगानी भएको नेपाल एउटा सानो देश हो, जहाँ भारतीय र पश्चिमाहरु आफ्नो प्रभाव जमाउन लागिरहेका छन्,’ समाचारमा भनिएको छ ।

 

यसअघि काठमाडौंस्थित चिनियाँ दूतावासले पनि चीनले नेपालको भूमि नमिचेको दाबी गरेको थियो । नेपाल सरकारले पनि चीनसँग कुनै सीमा समस्या नभएको दाबी गरेको छ ।

 

तर, कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका कर्णाली प्रदेशका प्रतिपक्षी दलका नेता शाहीले हुम्लाको सीमा क्षेत्र मिचेको प्रतिवेदन पार्टीलाई बुझाउनुभएको थियो ।

 

कांग्रेस केन्द्रीय कार्यालयले पनि नेता शाहीले बुझाएको प्रतिवेदनलाई आधार मानेर सरकारसँग चीनद्वारा मिचिएको भूमि फिर्ताको पहल गर्न आग्रह गरेको थियो ।

 

प्रतिवेदनको निष्कर्षमा भनिएको थियो, ‘चीन सरकारले लोलुङजोङ्गमा निर्माण गरेका भौतिक संरचनाहरू नपाला भूभागभित्र पर्ने र १२ नं पिल्लर रहेको स्थान पश्चिममा झण्डै २ कि.मि.तल ४९०० को उचाइमा रहेको छन् ।

 

गप्पदोचादेखि नेपालले निर्माण गरेको झण्डै २ कि।मि। सडक खण्डलाई चीनले अतिक्रमण गरेको पाइयो । लाप्चा भञ्जयाङमा नयाँ निर्माण गरिएको १२ नं सीमा स्तम्भका एलाइन्टमेन्ट गरिएका पाइयो ।

https://www.globaltimes.cn/content/1206402.shtml