कोरोना खोपले ९२ प्रतिशतसम्म बचाउँने रुसकाे दाबी

काठमाडौं,कार्तिक २६। रुसले आफूले बनाएको कोरोनाविरुद्धको खोपले संक्रमणबाट ९२ प्रतिशतसम्म सुरक्षा दिने दाबी गरेको छ।

 

अमेरिको फाइजर र जर्मनको बायोनटेक कम्पनीले संयुक्त रूपमा विकास गरेको खोपले कोरोनाबाट ९० प्रतिशतसम्म बचाउने दाबी गरेलगत्तै रुसले आफूले बनाएको स्पुतनिक भी खोपले अझ बढी सुरक्षा दिने दाबी गरेको हो।

 

 रोयटर्सका अनुसार खोप निर्माता रुसी कम्पनी आरडिआइएफका प्रमुखले भनेका छन्, ‘हाम्रो खोप धेरै प्रभावकारी र सुरक्षित छ।

 

यसअघि नै विश्वमा आफूले सबैभन्दा पहिले सफल खोप बनाएको दाबी गरेको रुसले गत अगस्टमै देशमा खोप प्रयोगको स्वीकृति दिइसकेको छ। रुसका राष्ट्रपति भ्लादमिर पुटिनले त्यो खोप आफ्नो छोरीले पनि लगाएको र प्रभावकारी देखिएको उही बेला दाबी गरिसकेका छन्।

 

तर विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले भने रुसले बनाएको खोपबारे अनभिज्ञता प्रकट गरिरहेको छ। यस्तै अन्य देशका वैज्ञानिकले पनि रुसले परीक्षण प्रक्रिया पूरा नहुँदै खोप घोषणा गरेको आरोप लगाइरहेका छन्। एजेन्सी,