कञ्चनरुपमा आठ महिनादेखि बन्द विद्यालय आजबाट सञ्चालन हुँदै

काठमाडौं,मंसिर ७। आठ महिनादेखि बन्द कञ्चनरुप नगरपालिकामा आज आइतबारदेखि अध्ययन अध्यापन शुरु हुने भएको छ। कञ्चनरुप नगरपालिकाअन्तर्गत रहेको माध्यमिक तह र क्याम्पस तहका कक्षा आज आइतबारदेखि सञ्चालन गर्न लागिएको कञ्चनरुप शिक्षा शाखाले जनाएको छ।

 

शैक्षिकसत्र खेर जाने जोखिम बढेपछि सरकारले कोभिड–१९ महामारीको अवस्था विश्लेषण गरेर भौतिकरूपमै विद्यालय सञ्चालन गर्न दिने भएपछि स्वास्थ मापदण्ड अपनाई कक्षा सञ्चालन गर्न लागिएको शिक्षा शाखा अधिकृत प्रेमकुमार चौधरीले बताए।

 

चौधरीका अनुसार विद्यालयमा हात धुने पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने–गराउने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने अन्य सुरक्षा उपकरण प्रयोग गर्ने र घरमा समेत त्यसको अभ्यास गराइने छ।

 

कोभिड–१९ का कारण गत चैत महिनादेखि बन्द रहेको विद्यालय खोल्न लागिएको नगर प्रमुख वसन्तकुमार मिश्रले बताए। नगरपालिकाको शिक्षा समितिको गत कात्तिक १९ गतेको निर्णयले यही मङ्सिर ७ गतेदेखि विद्यालय खुलाउने निर्णय गरेको थियो।

 

लामो समयदेखि बन्द विद्यालयमा सामाजिक दूरी कायम गरी पठनपाठन सञ्चालन गर्न परिपत्र भएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले बताए। यस निर्णयसँगै नगरपलिकाभित्र सामुदायिक र निजी गरी १५ माध्यमिक विद्यालय तथा चार कलेज ९क्याम्पस० सञ्चालनमा आउनेछन्। रासस