प्रचण्डले धेरै सहनुभयो,अब पनि सहेर बस्ने अवस्था छैन : मन्त्री वर्षमान पुन

काठमाडौँ,मसिर १२। नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवम् ऊर्जा मन्त्री वर्षमान पुनले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्म धेरै कुरा सहेर बसेको बताएका छन्।

 

  सञ्चार माध्यामसँग बिहीबार कुराकानी गर्दै प्रचण्डनिकट पुनले अब पनि सहने हो भने पार्टीलाई नै अप्ठ्यारो पर्ने र  सहेर  बस्ने अवस्था नरहेकाे उनले बताए। ‘साढे दुई वर्षसम्म कमरेड प्रचण्डले सबै कुरा सहनुभयो। थुप्रै कुरा भए चुनावमा ३२ लाख र १६ लाख मत ल्याएको पार्टी हो। प्रत्यक्ष निर्वाचनमा एकले अर्कालाई सहयोग गरेको हो।

 

जनताको साझा अभिमत दुई पार्टीले पाएको भए पनि त्यसलाई सम्मान गरिएन,’ उनले भने,’त्यो नहुँदा पनि प्रचण्डले सहनुभएको हो तर अहिले अति नै भयो। साह्रै भयो भनेर आफ्ना आक्रोश र भावना राजनीतिक प्रस्तावमार्फत् पेस गर्नुभएको छ। धेरै कुरा सहनुभयो तर अब सहँदा आन्दोलनलाई अप्ठ्यारो पर्छ, समग्र पार्टीलाई अप्ठ्यारो पर्छ।’

 

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीविरूद्ध या अरू कोहीका विरूद्धभन्दा पनि कम्युनिष्ट आन्दोलन अघि बढ्न पर्छ भन्ने सोचाइबाट प्रचण्डको पछिल्लो प्रतिवेदन आएको उनले बताए।

 

‘समाजवादमा देश अघि बढ्नु पर्‍यो, शासनमा सुधार सुशासन हुनुपर्‍यो, विकास, समृद्धि र जनताको आकांक्षाअनुसार हुनुपर्‍यो। त्यस्तो गर्न सरकार र पार्टी नेतृत्व ठीक दिशामा अघि बढिरहेको छैन भने प्रश्न उठाउनु पर्छ।

 

त्यो प्रश्न प्रचण्डले उठाउनुभएको छ, उनले भने,’लेख्दा कतिपय बढी भयो होला कति तीखा भए होलान्, त्यो कुरा त एकै ठाउँमा बसेर मिलाउन सकिन्छ।