नेकपा विवादः टुट्यो ओली र दाहालबीचको संवाद

काठमाडौं,मंसिर १२ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०भित्रको विवाद चर्किँदै गइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा संवाद टुटेको छ ।

 

गत ३ मंसिरको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीमाथि गम्भीर आरोप लगाउँदै अध्यक्ष दाहालले प्रस्ताव पेस गरेपछि संवाद टुटेको हो । त्यसभन्दा अघि विभिन्न विषयमा छलफल हुँदै आएको भए पनि ३ मंसिरको सचिवालय बैठकयता अध्यक्षद्वय ओली र दाहालका बीचमा संवाद भएको छैन ।

 

हरेक समस्या आउँदा दुई अध्यक्षबीच संवादमार्फत समस्या समाधानको पहल हुने गरेको थियो तर अहिले उनीहरूबीच संवाद टुटेपछि समस्याहरू पनि थाती रहेको निकटस्थहरूले बताएका छन् । ओली पक्षले दाहालले प्रस्तुत गरेको प्रतिवेदनलाई अराजनीतिक प्रतिवेदनको संज्ञा दिँदै आएका छन् ।

 

नेकपाभित्रको शक्ति संघर्षले पार्टी एकता निकै कमजोर बन्न पुगेको छ । नेकपा स्रोतका अनुसार अध्यक्षद्वयका बीचमा बढ्दै गइरहेको दुरीका कारण पार्टी फुट्ने हो कि भन्ने चिन्ताले आम कार्यकर्ताहरू निराश बन्न पुगेका छन् ।

 

ओली पक्षका नेताहरूले भने प्रधानमन्त्रीका कारण पार्टी नफुट्ने तर अराजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेहरूले पार्टी फुटाउन सक्ने सम्भावनालाई भने नकार्न नसक्ने बताउँदै आएका छन् । दाहाल पक्ष नेताहरूले पनि प्रधानमन्त्रीले पार्टीको निर्णय कार्यान्वयन नगरेकाले समस्या आएको बताउँदै आएका छन् ।

 

पहिला पार्टीमा विवाद हुँदा अध्यक्षद्वयले छलफल गरेरै समाधान निकाल्ने र अगाडि बढ्ने काम हुन्थ्यो । अहिले त अध्यक्षद्वयका बीचमा संवाद नै टुटेको छ । दुवै पक्ष आ–आफ्नै रणनीतिअनुसार अगाडि बढ्न खोज्नुले पार्टी गम्भीर समस्यामा फसेको स्पष्ट हुन्छ ।

 

पार्टीमा विवाद बढ्दै गइरहेको अवस्थामा दुवै पक्ष आ–आफ्नै रणनीतिअनुसार अगाडि बढ्न खोज्नुले पार्टीको अवस्था झन् ‘खतरा’तर्फ अघि बढिरहेको चित्रण गर्न थालिएको छ ।

 

‘पहिला पार्टीमा विवाद हुँदा अध्यक्षद्वयले छलफल गरेरै समाधान निकाल्ने र अगाडि बढ्ने काम हुन्थ्यो,’ नेकपा स्रोतले भन्यो, ‘अहिले त अध्यक्षद्वयका बीचमा संवाद नै टुटेको छ । दुवै पक्ष आ–आफ्नै रणनीतिअनुसार अगाडि बढ्न खोज्नुले पार्टी गम्भीर समस्यामा फसेको स्पष्ट हुन्छ।

 

गत २८ कात्तिकको सचिवालय बैठकमा अध्यक्ष दाहालले पेस गरेको दस्तावेजका कारण दुई अध्यक्षबीचको सम्बन्ध अत्यधिक चिसिएको हो । दस्तावेजमार्फत अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीमाथि संगिन आरोप लगाएका थिए ।

 

अध्यक्ष ओलीले भने दाहालले पेस गरेको सो दस्तावेजलाई अभियोग पत्रका रूपमा चित्रण गर्दै आएका छन् । ओलीले १३ मंसिरमा बस्ने सचिवालय बैठकमा दाहालले लगाएको आरोपको खण्डनसहित जवाफ दिने भएका छन् ।

 

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली अहिले राजनीतिक प्रस्ताव तयारी गर्ने आन्तरिक गृहकार्यमा जुटेका छन् । आफूमाथि लागेको आरोप प्रमाणित गर्न यसअघि नै चेतावनी दिएका ओलीले दाहाललाई कडा जवाफ दिने तयारी गरेका छन् ।

 

‘आफूमाथि लागेको आरोप पुष्टि भए प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिने नभए आरोप लगाउने ९दाहाल०ले राजीनामा दिनुपर्ने’ अडानमा ओली रहेका छन् । गत निर्वाचनमा सहकार्य भएयता अहिलेसम्मका विभिन्न समयमा भएका निर्णय कार्यान्वयनलगायतका विषयमा गम्भीर समीक्षा गर्दै ओलीले दाहाललाई कडा जवाफ दिने तयारी भएको छ ।

 

यता अध्यक्ष दाहालले पेस गरेको प्रस्ताव प्रकाशन गरी तल्लो तहका कमिटी एवं नेताहरूलाई अध्ययनका लागि दिएको भन्दै ओली पक्षले दाहालमाथि पार्टी विभाजन गरेको आरोप लगाएको छ । तर, दाहाल पक्षले ओलीले समेत पेस गर्ने प्रस्तावलाई प्रकाशन गरी तल्लो तहका कमिटीका नेतालाई दिने र आउने निष्कर्षअनुसार अगाडि बढ्ने बताउँदै आएको छ ।

 

‘एकले अर्कोलाई गम्भीर आरोप लगाउने र एकले अर्कालाई पदच्यूत गर्ने रणनीति बनेपछि पार्टी एकता संकटमा परेको छ,’ नेकपा स्रोत भन्छ, ‘कुनै पक्ष पछाडि नहट्ने भएकाले १३ मंसिरको सचिवालय बैठक झन् डरलाग्दो हुनेछ ।

 

यसैबीच प्रधानमन्त्री ओलीले बिहीबार राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेटेका छन् । पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीका बीचमा छलफल भएको छ ।

 

राष्ट्रपति भण्डारीले यसअघि नेकपाका अन्य शीर्ष नेतासँग भेटघाट गर्दै पार्टी एकताबारे चासो राखेकी छन् । पार्टी एकता कायम राख्दै विवाद समाधानमा भूमिका निर्वाह गर्न उनले नेताहरूलाई सुझाव दिँदै आएकी छन् ।राजधानी दैनिकमा खबर छ।