धनकुटा सेना मृत्यु प्रकरणः १४ जना सेनाविरुद्ध मुद्दा दर्ता अनुसन्धान सुरु

काठमाडौं,मंसिर १६। ६ महिनाअघि सेनाको २ नम्बर वाहिनी हिले धनकुटामा सेनाका मेजर हवाल्दारको मृत्यु प्रकरण शंकास्पद भएको दावी गर्दै परिवारका सदस्यले किटानी जाहेरी दिएका १४ जनाको नाममा मुद्दा दर्ता भएको छ।

 

जेठ ५ गते गम्भिर घाइते भएर १२ गते बिएमसि अस्पताल विराटनगरमा मृत्यु भएका सेनाका हवाल्दार सुनसरी रामधुनी वडा नं। ३ का पर्शुराम भट्टराईकी श्रीमती कमलाले घटना शंकास्पद भएको जनाउँदै सेनाका तत्कालिन वाहिनीपतिसहित १४ जनाविरुद्द किटानी जाहेरी दिएपछि मुद्दा दर्ता भएर अनुसन्धान सुरु भएको हो।

 

कमलाले दिएको किटानी जाहेरी अनुसार तत्कालीन धनकुटा २ नम्बर बाहीनीका बाहिनीपति यमप्रसाद ढकालसहित सैनिक राजकुमार बस्नेत, तुन्जिङ शेर्पा, बाबुराम कार्की, दिलबहादुर कार्की, अकलबहादुर घले मगर, शेरबहादुर लिम्बु, गणेश श्रेष्ठ, अमरबहादुर देउजा, योगेन्द्र बास्तोला, भुवन थापा, लिला वि।क, आर्मस्ट्रङ्ग कबिरथ र दुर्गा बहादुर तामाङ्विरुद्ध मुद्दा दर्ता भएर अनुसन्धान सुरु भएको हो।

 

तत्कालिन वाहिनीपति ढकालसहित १४ जनाविरुद्ध किटानी जाहेरी जिल्ला प्रहरी धनकुटाले लिन अस्वीकार गरेपछि हुलाकमार्फत पठाइको भट्टराईंको परिवारले साताअघि पत्रकार सम्मेलन गरि जनाएको थियो। पत्रकार सम्मेलनमा घटनाको वास्तविकता छानविन गरेर सार्वजनिक गर्न पनि माग गरिएको थियो।

 

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले मृतक भट्टराईंका आफन्तले हुलाका कार्यालयमार्फत पठाएको जाहेरी दर्ता गरेर अनुसन्धान थालिएको जनाए। ‘घटनाको बारेमा अहिलेसम्म यकिन पत्ता लागेको छैन, मुद्दा दर्ता भएर अनुसन्धान थालिएको छ,’ अधिकारीले भने ।

 

३८ वर्षीय पर्शुराम २ नम्बर बाहिनीमा जेठ ५ गते राति अचेत भईं लडेको अवस्थामा फेला परेको बाहीनीले जनाएपनि तत्काल परिवारका सदस्यलाई कुनै जानकारी नदिईकन अस्पताल भर्ना गरेपछि मात्र थाहा पाएकाले घटना रहस्यमय भएको परिवारका सदस्यले बताउँदै आएका छन्।

 

पर्शुराम बिरामी परेको सूचना आएपछि परिवारका सदस्य अस्पतालमा गएर हेर्दा टाउँको देब्रे पट्टि कन्चट नजिक गम्भिर चोट लगेर भित्रपट्टि हड्डी फुटे जस्तो चोट देखिएको थियो।

 

दुवै आँखामा निल डाम, दाहिने हात, घुडालगायत शरिरको विभिन्न भागमा थुप्रै ठाउँ चोट लागेर अचेत भई भेन्टिलेटरमा उपचार भइरहेको अवस्थामा थिए। मृतक पशुरामका परिवारका सदस्यले सरकारी सेवा–सुविधा प्राप्त गरेपछि किटानी जाहेरी दर्ता गरेका हुन्। नागरिक दैनिकमा खबर छ।