फुटबल खेलाडीको पारिश्रमिक समान

काठमाडौँ,मंसिर २६। नेपाली राष्ट्रिय फुटबल पुरुष तथा महिला खेलाडीले अबदेखि समान पारिश्रमिक पाउने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यसमिति बैठकले पुरुष तथा महिला खेलाडीलाई समान पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो ।

 

एन्फाले राष्ट्रिय फुटबल टोलीका खेलाडीको पारिश्रमिकमा समेत वृद्धि गरेको छ । पुरुष तथा महिला खेलाडीले जनही मासिक १८ हजार रुपैयाँ पारिश्रमिक पाउने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

 

लामो समयदेखि खेलाडीको पारिश्रमिकमा वृद्धि हुन सकेको थिएन । पुरुष तथा महिला खेलाडीले पारिश्रमिक वृद्धिको माग गर्दै आएका थिए । पुरुषको तुलनामा महिलाको पारिश्रमिक आधाभन्दा कम भएका कारण त्यसको विरोध हुँदै आएको थियो ।

 

यसअघि पुरुष खेलाडीले मासिक जनही १५ हजार रुपैयाँ तथा महिला खेलाडीले जनही सात हजार रुपैयाँ पारिश्रमिक पाउने गरेका थिए ।पहिलो पटक पुरुष र महिला फुटबल खेलाडीले समान पारिश्रमिक पाउन लागेको प्रवक्ता राइले बताए । रासस,