बैंकिङ कसुरमा प्रबन्धकसहित पाँच जना पक्राउ

काठमाडौँ,पुस ५ । बैंकिङ कसुर मुद्दामा ऋणी र बैंकका शाखा प्रबन्धकसहितका व्यक्ति संलग्न रहेको खुलेको छ । उक्त कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महालक्ष्मी विकास बैंकको विभिन्न शाखा कार्यालयका प्रबन्धक र पूर्वप्रबन्धकलाई आज पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–९ गौशाला बस्ने तत्कालीन बैंकका शाखा प्रबन्धक स्मृति राना, कास्की पोखरा घर भई चन्द्रागिरि बस्ने शाखा प्रबन्धक पिङ्कु पालिखे र मोरङको विराटनगर घर भई ललितपुर बस्ने शाखा प्रबन्धक अनिस सिंह सिजापति रहेको ब्यूरोले जनाएको छ ।

 

उनीहरुले ऋणीसँगको मिलेमतोमा कम तौलका सुनका गरगहना बढी तौलको देखाई अत्यधिक मूल्याङ्कन गरी बढी ऋण लिएको र हालसम्म सावाब्याज नतिरेको खुल्न आएको ब्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । उनीहरुले बैंकलाई रु सात करोड ४२ लाख ६१ हजार नोक्सानी पु¥याएको जनाइएको छ ।

 

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बैंकिङ कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा ऋणीलाई मङ्सिर २६ गते पक्राउ गरिएको थियो । पक्राउ पर्ने ऋणीमा खोटाङका पूर्ण राई, देवानन्द राई र धनकुटाका सन्दीप लिम्बू रहेको प्रहरीले जनाएको छ । रासस,