यस्तो छ, आजको मौसम पूर्वानुमान

काठमाडौँ,पुस १२। आइतबार देशका विभिन्न ठाउँको मौसम आशिंकदेखि सामान्य बदली हुने मौसमविद्ले पूर्वानुमान गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार आइतबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

 

यस्तै राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी भू–भागमा आंशिक बदली हुनेछ । तराईका अधिकांश क्षेत्रमा हुस्सु लाग्नेछ । हुस्सुका कारण तराई क्षेत्रमा चिसो हुने पूर्वानुमान गरिएको छ ।

 

पश्चिमी वायुको प्रभावले बादल लागेपनि पानी भने नपर्ने मौसमविद् पौडेलको भनाइ छ । यस्तै सोमबार दिउँसो प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिक रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहँदा राति भने प्रदेश १, गण्डकी र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली हुँदै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

काठमाडौंको आइतबार बिहानको न्यूनतम तापक्रम २ दशमलभ ५ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम १ दशमलव ३ डिग्री सेल्सियसमा झरेको थियो । तराई क्षेत्रमा भने हुस्सु लाग्ने भएकाले चिसो बढ्ने पूर्वानुमान मौसमविद्ले गरेका छन्।