प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता

काठमाडौँ,पुस १४। नेपालको राजनीतिक घटनाक्रम बुझ्न चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौंमा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ‌ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

 

शीतल निवास स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सोमबार साँझ राष्ट्रपति भण्डारीलाई भेटेका हुन्। उनीहरूबीच नेकपा विभाजन तथा नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीसँगको भेटवार्ताका विषयमा झण्डै २ घण्टा छलफल भएको थियो।

 

तर प्रधानमन्त्री र राष्ट्रपतिको यो भेट नियमित सिलसिलाअन्तर्गतकै भएको शितल निवास स्रोतले दाबी गरेको छ।

 

राष्ट्रपतिसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक परिस्थिति र सरकारका कामकारबाहीबारे जानकारी गराएका उनको सचिवालयका एक सदस्यले जानकारी दिए ।

 

ओली र भण्डारीबीच पछिल्लो राजनीतिक अवस्थाबारे छिमेकी राष्ट्र चीनबाट बढेको चासोका विषयमा पनि कुराकानी भएको बताइएको छ ।

 

प्रधानमन्त्री ओलीको सिफारिसमा गत आइतबार (पुस ५ गते) राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधि सभा विघटनको घोषणा गरेपछि देशमा राजनीतिक गतिरोध बढेको छ ।

 

संसद विघटनपछिको राजनीतिक घटनाक्रमबारे ‘जानकारी लिन’ चिनियाँ प्रतिनिधि मण्डल आइतबार नेपाल भ्रमणमा आएको छ ।

 

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वको टोलीले आइतबार नै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको थियो ।

 

त्यसपछि सोमबार चिनियाँ टोलीले नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाललगायतसँग भेटवार्ता गरेको छ ।

 

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डलले नेपालका शीर्ष नेताहरूसँग भेटवार्ता गरिरहेका बेला भएको राष्ट्रपति भण्डारी र ओलीको यो भेटलाई अर्थपूर्ण मानिएको छ।