भोलि (शुक्रबार)देखि अनलाईनबाट पुनः श्रम स्वीकृति लिन पाईने

काठमाडौं,पुस १६। वैदेशिक रोजगार विभागले भोलि (शुक्रबार) देखि अनलाईन माध्यमबाट पुनः श्रम स्वीकृति दिने भएको छ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट आवेदन दिई श्रम स्वीकृति लिन सक्ने व्यवस्था मिलाएको हो ।

 

भोलि देखि नै अनलाइन आवेदन भरेर पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । यो सेवा लागू भएसँगै पुनः श्रम स्वीकृति लिनका लागि विभागको कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने पनि उनले बताए ।

 

एकपटक विभागबाट आईडी लिएका, फिङ्गर प्रिन्ट गराएका, बायोमेट्रिक लिइसकेका व्यक्तिहरुलाई पुरानै विवरणको आधारमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइएपछि अनलाइनबाटै आवेदन दिएर निःशुल्क सेवा लिन सकिने व्यवस्था गरिएको दहालले बताएका छन् ।

 

बैदेशिक रोजगारीमा जान एकपटक श्रम स्वीकृति लिइसकेका व्यक्तिहरुले पुनः श्रम स्वीकृति लिनुपरेमा विभागको वेबसाइटमा रहेको अनलाइन श्रम स्वीकृति (एफईआईएमएस) मार्फत फारम भर्न सक्नेछन् ।

 

अनलाइनबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था गरेपछि विदेशमा बसेका नेपालीहरुलाई श्रम स्वीकृति लिन नेपाल आउनुपर्ने बाध्यता हटने पनि दहालले बताएका छन्।