आजदेखि प्रधानमन्त्री कप क्रिकेट सुरु हुँदै: उद्घाटन खेलमा आर्मी र गण्डकी भिड्ने

काठमाडौं,माघ २। आजदेखि प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुंदैछ । प्रतियोगिताको उद्घाटन खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मी क्लब र गण्डकी प्रदेशबीच हुनेछ ।

 

माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा त्रिवि क्रिकेट मैदान र मुलपानीस्थित क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिमले प्रतिस्पर्धा गर्नेछन् ।

 

यसअघि दाङमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सम्पन्न भएको थियो । त्यसपछि अहिले पुरुष प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजक नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

 

क्यानले प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरेको छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेशरु१ र कर्णाली प्रदेश रहेका छन् ।

 

समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेशरु२ र सुदूरपश्चिम प्रदेश रहेका छन् । समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्।