दर्शनशास्त्रको पध्दति : द्वन्द्ववाद र अधिभूतवादका सन्दर्भमा                                       

” अलगअलग वस्तुहरुमाथि विचार गर्ने बेला अधिभूतवादले तिनका परस्पर सम्बन्धहरुलाई भुल्दछ , तिनको अस्तित्वमाथि विचार गर्ने बेला त्यसले त्यसको अस्तित्वको आरम्भ र अन्त्यलाई भुल्दछ । त्यसले रुखहरुलाई देख्दछ , वनलाई देख्न पाउँदैन यसका विपरीत द्वन्द्ववादले  वस्तुहरु र तिनका मानस चित्रहरु अर्थात् विचारहरुलाई , तिनका आधारभूत सम्बन्ध , गति , आरम्भ र अन्त्यलाई ध्यानमा राखेर नै ग्रहण गर्दछ।                                                 – फ्रेडरिक एंगेल्स 
 
   
 
प्रकृति , संसार , समाज तथा प्राकृतिक र सामाजिक  घटनाहरुलाई हेर्ने , अध्ययन गर्ने , बुझ्ने , विश्लेषणात्मक र व्याख्यात्मक रुपले चिन्तन र मनन् गर्ने वा त्यसको विपरीत चल्नुलाई नै पध्दति भनिन्छ । ग्रीक भाषाको Dialogo को अर्थ द्वन्द्व अर्थात् वाद – विवादबाट निष्कर्ष निकाल्नु हो। संकृत भाषामा ” वादेवादे जायते तत्वबोध ” अर्थात् वावदविवादबाट वास्तविक कुरा पत्ता लाग्छ भनिन्छ  पध्दति दुई प्रकारका हुन्छन् – द्वन्द्ववाद र अधिभूतवाद ।
     
दर्शनशास्त्रको फाँटमा विश्वको विकास प्रक्रिया र त्यसका नियमहरुको अध्ययन गर्ने चिन्तनप्रणालीलाई दर्शनशास्त्रको पध्दति भनिन्छ ।
     
द्वन्द्ववाद प्राचीन युनानी दिएलेगो ( Dialogo ) पदावलीबाट विकसित भएको हो  र यसको अर्थ हो बहसको कला ।
       
त्यस्तै अधिभूतवाद पनि प्राचीन युनानी मेटा – फिजिका ( Meta – Physica ) पदावलीबाट विकास भएको हो । 
       
 
अधिभूतवादले भौतिक विज्ञानभन्दा पर भन्ने अर्थ बुझाउँछ । सामान्यतः द्वन्द्ववादलाई गति तथा परिवर्तन र अधिभूतवादलाई स्थरिताको संवाहक पदावलीका अर्थमा बुझ्न सकिन्छ ।
       
तसर्थ द्न्द्ववाद ( Dialectics ) र ( Meta – Physica )   परस्पर विपरीत अर्थ बुझाउने पदावली हुन् । प्राचीन युनान , भारत , नेपाल , चीनमा संगसंगै  यी पध्दतिहरु विकसित भएको पाइन्छ ।
         
 
द्वन्द्ववाद ( Dialecttics ) यो संसार , प्रकृति र प्राकृतिक घटनाहरु तथा मानवसमाज र सामाजिक गतिविधि समेत यावत सांसारिक कुराहरुलाई हेर्ने , अध्ययन गर्ने , बेझ्ने, ब्याख्या र विश्लेषण गर्ने या चिन्तनन् र मनन् गर्ने एउटा त्यस्तो पध्दति हो , जुन अधिभूतवाद विरोधी छ र जसले प्रत्येक कुरालाई स्वतन्त्र होइन , अस्वतन्त्र , असंलग्न होइन , संलग्न , असंबन्धित होइन , सम्बन्धित , स्थिर होइन , अस्थिर र अपरिवर्नशील होइन , परिवर्नशील देख्दछ । यसलाई हेराक्लिस्टले सबैभन्दा पहिले प्रयोग गरेका थिए । हेगेलले यसको विकास गरेको भए तापनि हेगेलको द्वन्द्ववाद आदर्शवादी बोक्राले बेरिएको थियो ।
       
 
कार्ल माक्र्सले हेगेलको द्वन्द्ववादबाट आदर्शवादी बोक्रा काढेर निखरा बनाउनु भयो र त्यसलाई भौतिकवादसित गाँस्नु भयो । त्यसको साथ  साथै माक्र्सले द्वन्द्वात्मक भौतिकवाद नियमहरुलाई मानव समाजमा आरोपित गरेर ऐतिहासिक भौतिकवादको आविस्कार गर्नु भयो । त्यसरी वैज्ञानिक दर्शन द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादका संस्थापक कार्ल माक्र्स हुनु भयो ।
   
माक्र्सको कार्यमा सहयोग दिने , त्यसलाई अगाडि बढाउने र विकास गर्ने काम फ्रेडरिक एंगेल्सले गर्नु भयो ।  लेनिनले द्वन्द्ववादको गुदी छुट्याउनु भयो । लेनिनले यसका प्रवर्गहरुको बारेमा पनि स्पष्ट किटान गर्नु भयो ।
       
स्टालिनले द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादलाई रुसको परिस्थितिमा लागु गर्न समर्थ हुनु भयो । माओले द्वन्द्ववादको आधारभूत नियम , वस्तुहरुको एकताको नियमलाई द्वन्द्ववादको आधारभूत नियम बताए र त्यसको विस्तृत ब्याख्या र विश्लेषण गर्नु भयो ।
     
अधिभूतवाद यो प्रकृति , प्राकृतिक घटनाहरु , समाज तथा सामाजिक गतिविधिलाई हेर्ने , अध्ययन गर्ने , बुझ्ने र ब्याख्या गर्ने एकलकाटे अर्थात् एकपक्षीय प्रवृत्ति हो ।
     
अधिभूतवाद द्वन्द्ववाद विरोधी पध्दति हो ।यसले सम्पूर्णलाई देख्यो भने अंशलाई देख्दैन , अंशलाई देख्यो भने सम्पूर्णलाई देख्दैन । एकापट्टिको पाटो देख्यो भने अर्को पाटो देख्दैन , राम्रो पक्ष देख्दाखेरी नराम्रो पक्ष देख्न सक्दै र नराम्रो पक्ष देख्दाखेरी , राम्रो पक्ष देख्नै सक्दैन आदि ।
 
 
समग्रमा यसले विपरीत तत्वका बीचमा एकता हुन्छ भन्ने कुरा मान्दैन । यसले हरेक कुरा गतिशील हुन्छ , परिवर्तनशील , जो हिजो थियो आज छैन , जुन आज छ , त्यो भोलि हुदैन , ज‍ यहाँ छ , त्यो अर्को ठाउँमा जस्ताक‍ तस्तै हुदैन भन्ने कुरा मान्दैन ।
 
 
यसले हरेक कुरालाई अपरिवर्तनशील , स्थिर , कसैसित पनि कुनै पनि प्रकारले सम्बन्धित नहुने , छुट्टै र स्वतन्त्र हुने हुन्छ भन्ने ठान्दछ । यो पध्दति अनुसार विकास भनेको संख्यात्मक बृध्दि हुनु हो ।  यसले फड्को मारेर हुने गुणात्मक परिवर्तनलाई मान्दैन 
   
अधिभूतवाद शब्दको प्रयोग सबैभन्दा पहिले अरस्तुले गरेका थिए । उनले यसलाई नै प्रथम दर्शन बताएका थिए ।  
     
माक्र्स र एंगेल्सले यसको निराधार र अवैज्ञानिक प्रकृतिलाई नांगेझार पारिदिनु भयो । लेनिनले ज्ञानको कुनै पनि पक्षको निरपेक्षीकरण अधिभूतजाद हुन्छ भन्नुभएको छ। माओले अधिभूतवादलाई भडुँवा विकासवाद कताउनु भएको छ र यसको  प्रकृति रचनात्मकता विरोधी तथा जडता र यान्त्रिकताको प्रकृति भएको कुरालाई उदंग्याउनु भएको छ ।
     
अधिभूतवाद र द्वन्द्ववाद ( Meta – physics and Dialectics ) यी प्रकृति र प्राकृतिक घटनाहरु तथा समाज र सामाजिक गतिविधिहरुलाई हेर्ने अध्ययन गर्ने , बुझ्ने र व्यवहारमा लागू गर्ने दुई परस्पर पध्दति भएकाले यी दुबैका बीचको भेदलाई यसरी छुट्याउन सकिन्छ ।
 
(१) अधिभूतवादले हरेक कुरालाई स्थित र अपरिवर्तनशील देख्दछ भने द्वन्द्ववादले हरेक कुरालाई गतिशील , अस्थिर र परिवर्तनशील देख्दछ ।
 
(२) अधिभूतवादले जुनसुकै कुरा एक अर्कोशीत असंलग्न , असंबध्द र स्वतन्त्र हुन्छ भन्ने मान्दछ भने द्वन्द्ववादले जुनसुकै कुरा पनि कुनै न कुनै कुराशीत ज‍ोडिएको , संबंधित , संलग्न र अस्वतन्त्र हुन्छ भन्ने मान्दछ ।
 
(३) अधिभूतवादले अंश र सम्पूर्णका बीचमा एकरुपता हुन्छ र ती एक अर्कोमा रुपान्तरित हुन्छन् भन्ने कुरा अस्वीकार गर्दछ भने द्वन्द्ववादले अंश र सम्पूर्णका बीच द्वन्द्वात्मक सम्बन्ध हुन्छ भन्ने कुरा मान्दछ ।
 
(४) अधिभूतवादले अंश अंश मिलेर सम्पूर्ण हुन्छ भन्ने कुरालाई यान्त्रिक रुपले मात्र स्वीकार गर्दछ र कुनै पनि पक्षको सम्पूर्णता बाह्य शक्तिविना हुन्छ भन्ने कुरा मान्दैन । सम्पूर्ण भनेर खाली काल्पनिक ईश्वरलाई मात्र मान्दछ भने द्वन्द्ववादले हरेक सम्पूर्ण कुरा अंशको संयोगबाट नै बन्दछ र त्यसको लागि बाह्य शक्ति नभई नहुने कुरा हुदैन , यद्यपि अन्य पक्षको सहयोग त्यसको पूर्णतासित सम्बन्धित हुन्छ तर आन्तरिक पक्ष नै निर्णायक हुन्छ भन्ने कुरा मान्दछ ।
 
(५) अधिभूतवादले हरेक कुराको परिवर्तनमा बाह्य कारणलाई निर्णायक मान्दछ भने द्वन्द्ववादले हरेक कुराको परिवर्तनमा निर्णायक पक्ष आन्तरिक हुन्छ , यद्यपि बाह्य कारणले त्यसको गतिलाई ढिलो वा छिटो बनाइदिन्छ भन्ने मान्दछ ।
 
(६) अधिभूतवादले विपरीत तत्वको एकतालाई मान्दैन भने द्वन्द्ववादले विपरिततत्वको एकता यसको आधारभूत नियमलाई मान्दछ ।
 
(७) अधिभूतवाद पध्दति निराधार , अवैज्ञानिक र एक पक्षीय हुन्छ तथा यो  सापेक्ष र निरपेक्ष कुराहरुको बीचको भिन्नता छुट्याउन नसक्ने भडुँवा विकासवादी पध्दति हो भने द्वन्द्ववादी पध्दति तर्क र व्यवहारमा आधारित वैज्ञानिक , सर्वपक्षीय , सापेक्ष र निरपेक्षका बीचको भिन्नता छुट्ययाउने र स्थान , अवस्था र समय अनुसार  एउटै कुरा हुन पनि सक्नने र नहुन पनि सक्ने हुन्छ भनेर चल्ने पध्दति हो ।
 
(८) अधिभूतवाद प्रयोग सर्वप्रथम अरस्तुले गरेका थिए  भने द्वन्द्ववादको प्रयोग सर्वप्रथम हेराक्लिष्टले गरेका थिए  र यसको चरम विकास हेगेलले गरेका थिए तापनि उनको सामाजिक व्यवहार – उत्पादन , वर्गसंघर्ष र वैज्ञानिक प्रयोग – लाई ज्ञानको श्रोत मान्नु पर्नेमा त्यसो नगरेर आदर्शवादसित यसलाई खुदोमा मुछेका थिए ।हेगेलको द्वन्द्ववादमा रहेको आदर्शवादी बोक्रालाई माक्र्स र एंगेल्सले हटाएर यसको वैज्ञानिकता सिध्द गर्नु भएको थियोे ।
 
 
(९) अधिभूतवादले मात्रात्मक परिवर्तनलाई नै विकास मान्दछ भने द्वन्द्ववादले मात्रात्मक परिवर्तनले गुणात्मक परिवर्तनको लागि आधार तयार गर्दछ तर वास्तविक विकास गुणात्मकबाट नै हुन्छ भन्ने मान्दछ ।
 
(१०) अधिभूतवादले गतिको रुपमा यान्त्रिक प्रकाश , ध्वनि , चुम्बकलाई मात्र मान्दछ र त्यसरी यान्त्रिक परिवर्तनलाई मान्दछ भने द्वन्द्ववादले यान्त्रिक गतिको रुपमा प्रकाश , ध्वनि , चुम्बकत्वको साथ साथै सामाजिक गतिलाई पनि मान्दछ ।
 
(११) अधिभूतवादले अहिलेसम्म मानव समाजमा देखापरेका जुन जुन सामाजिक परिवर्तन छन् , ती सबैलाई यसले आकस्मिक रुपमा भएको वा बाह्य शक्तिको कारण भएको मान्दछ भने द्वन्द्ववादले अहिलेसम्म मानव समाजमा देखा परेका जुन जुन सामाजिक परिवर्तन छन् , ती सबैलाई आफ्नै आन्तरिक कारणले भएका र भइरहने कुरा मान्दछ । द्वन्द्ववादले हरेक परिवर्तनमा आन्तरिक कारणलाई प्रमुख मान्दछ र बाह्य कारणलाई गौण र सहयोगी मात्रै मान्दछ । साथै संसारका सबै वस्तु , घटना , समाजिक गतिविधि आदि निरन्तर गतिशील हुन्छन् र विकसित भइरहन्छन् भन्ने कुरा स्वीकार गरेर द्वन्द्ववादले परिवर्तनलाई अपरिहार्य मान्दछ ।
           
 
समाज विकासका क्रमसंगै मध्ययुगमा आध्यात्मवादका रुपमा अधिभूतवाद प्रभावी भएर गएको पाइन्छ । पुँजीवादको विकाससंगै आधुनिक पुँजीवादी दर्शनमा अधिभूतवाद अन्तर्गत यान्त्रिकतावाद , भडुँवा विकासवाद जस्ता दार्शनिक पध्दति देखापर्दै आएको पाइन्छ । साथै आधुनिक दर्शनको इतिहासमा द्वन्द्ववादको विकास गर्ने श्रेय हेगेल र माक्र्सलाई छ । माथि पनि प्रकाश पारिएको छ कि हेगेलको द्वन्द्ववाद आदर्शवादी थियो , तर माक्र्सको द्वन्द्ववाद भौतिकवाद रहेको छ ।
         
 
 दर्शनशास्त्रको पध्दति : द्वन्द्ववाद र आदर्शवाद जस्तो बृहत विषय यो सानो आलेखमा अटाउन नसकिने कुरा स्वाभाविक छ । यश विषयमा पछि कतै बृस्तृत रुपमा सविस्तार ब्याख्या गर्ने प्रयत्न गरिनेछ । आजलाई यत्ति मात्र ।
 मिति : १ जनवरी २०२१
 
बुढानिलकण्ठ नपा – २ , काठमाडौं 
 
( लेखक – अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।