आज सतहत्तरै जिल्लामा कोरोनाविरुद्ध खोप अभियान सुरू हुँदै : यी व्यक्तिले खोप लिनु हुँदैन

काठमाडौं,माघ १४। नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान बुधबारदेखि सुरु हुँदै छ । सातै प्रदेशमा एकै पटक सुरु हुने सो खोपको उट्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन् । प्रधानमन्त्रीले उट्घाटन गरेलगत्तै सातै प्रदेशका अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा अन्य समूहले खोप लगाउने कार्यक्रम छ ।

 

अभियानसँगै नेपाल कोभिड–१९ विरुद्धको खोप पाउने मुलुकमा दक्षिण एसियामा भारतपछि दोस्रो मुलुक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालपछि बुधबार दिउँसो बंगलादेशमा खोप अभियान सुरु हुने भएको छ ।

 

भारतले एक साताअघि अनुदानस्वरुप दिएको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनिकासँगको सहकार्यमा भारतको सेरम इन्सिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिडसिल्ड’ नामक खोप लगाइँदै छ । पहिलो चरणमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न कर्मचारी र शववाहन चालकलगायत छन् ।

 

पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप लगाइने परिवार कल्याण महाशाखाले जनाएको छ । बुधबार देशभरि १ सयभन्दा बढी खोप केन्द्रबाट खोप दिइने कार्यक्रम रहेको छ ।

यी व्यक्तिले खोप लिनु हुँदैन

सुत्केरी, गर्भवती, ६ महिनाभित्रका शिशुलाई, स्तनपान गराइरहेका महिला, आइसियुमा उपचार गराइरहेका सिकिस्त बिरामी, १८ वर्षमुनिका बालबालिका

एउटै केन्द्रमा खोप लिने संख्या हेरी दुईदेखि ८ वटासमेत बुथको व्यवस्था गरिएको छ । तीमध्ये काठमाडौं उपत्यकामा मात्र १७ वटा खोप केन्द्रमार्फत खोप दिइँदै छ । अग्रपंक्तिमा काम गर्ने समूहमध्येमा ३ लाख जना स्वास्थ्यकर्मी मात्र रहेको महाशाखाले जनाएको छ ।

 

३ लाख खोप लगाइसकेपछि बाँकी खोप वृद्धाश्रम र बालआश्रममा लगाइने कार्यक्रम छ । देशभरिमा १० दिनभित्र ४ लाख ३० हजार जनालाई खोप दिइसक्ने सरकारले लक्ष्य लिएको छ ।

 

दोस्रो चरणमा कोभाक्सबाट ल्याइने २० प्रतिशत भने ज्येष्ठ नागरिक, दीर्घरोगी, सुरक्षाकर्मीलगायतलाई दिने योजना रहेको र दोस्रो चरणको खोप पनि छिट्टै ल्याइने तयारी भएको परिवार कल्याण महाशाखाका प्रमुख डा। तारानाथ पोखरेलले बताए । सातै प्रदेशका सबै जिल्लामा खोप पुगिसकेको महाशाखाले जनाएको छ ।नागरिक दैनिकमा खबर छ।