फेरि भेटियो काठमाडौंको तारकेश्वरमा बर्ड फ्लु,रोकिएन भारतबाट अवैध कुखुरा आयात

काठमाडौँ,फागुन १४। काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्ड फ्लु पुष्टि भएको छ । बर्ड फ्लु पुष्टि भएको स्थान र त्यस वरपरका कुखुराहरु र दाना नष्ट गरिएको छ ।

 

विक्रम गौतम र कमल गौतमको फार्मका ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको सरकारी अनुगमन टोलीले जनाएको छ । फार्ममा रहेका ३ हजार ५ सय ७० वटा अण्डा र १ हजार ४ सय ५० किलो दाना पनि नष्ट गरिएको छ ।

 

यस्तै नजिकै रहेको सरिता शाहको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला र फार्ममा रहेको ७ सय ५० किलो दाना नष्ट गरिएको ।छ ।

 

सम्झना ठकुरी तिवारीले पालेका २ हजार ७६ वटा ब्रोइलर र १ हजार ७ वटा लोकल कुखुरा तथा शान्ता खनालले पालेका १०० लोकल कुखुरा र २ वटा टर्की पनि मारेर खाल्डोमा पुरिएको छ ।

 

तारकेश्वर नगरपालिका–१ मै यसअघि बर्डफ्लु पुष्टि भएपछि १४ सयभन्दा धेरै हाँस मारिएको थियो ।

रोकिएन भारतबाट अवैध आयात

नेपालमा बर्ड फ्लु देखिए पनि भारतबाट आयात हुने क्रम भने रोकिएको छैन ।काठमाडौँ र सुर्खेतमा बर्डफ्लु भेटिएपछि प्रहरी प्रशासनले भारतबाट कुखुरा आयात गर्न नदिने बताइरहेको छ ।

 

यही बेला दुई दिनको अन्तरालमा भारतबाट अवैध रूपमा ल्याइएका १४ क्विन्टल अवैध कुखुरासहित सात मोटरसाइकल र सात तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

बर्डफ्लुको उच्च जोखिम हुँदा पनि कुखुराको अवैध आयात भने जारी रहेको सो घटनाले पुष्टि गरेको छ । सिमानामा खटिएको सशस्त्र प्रहरीले बाँकेको डुडुवा र नरैनापुर गाउँपालिकाबाट १४ क्विन्टल अवैध कुखुरा, मोटरसाइकल र तस्करलाई नियन्त्रणमा लिएको हो ।

 

सशस्त्र प्रहरीको खडैचा बीओपीबाट सशस्त्र प्रहरी टोलीले बुधबार डुडुवा गाउँपालिका–१, पाँजाबाट पाँच क्विन्टल भारतबाट आउँदै गरेको अवैध कुखुरा बरामद गरेको हाे ।

 

टोलीले कुखरासहित सात मोटरसाइकल र सात तस्करलाई समेत पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण वागेश्वरी बाँकेका प्रमुख एसपी अशोक बमले जानकारी दिए ।