देशैभरका कुखुरामा रानिखेत रोगको प्रकोप, के हो रानिखेत रोग ?
काठमाडौं,फागुन २० । देशैभरका कुखुरामा यति बेला रानिखेत रोगको प्रकोप बढिरहेको छ । रोगले कुखुरापालक किसानलाई हालसम्म केकति क्षति भयो भन्ने बारेमा यकिन तथ्यांक भने आउन सकेको छैन ।
काठमाडौंको तारकेश्वर नगरपालिकामा किसानले पालेका हाँस र टर्कीमा बर्ड फ्लू रोगको संक्रमण पुष्टि भएपछि पशुसेवा विभागले देशैभरि व्यापक रूपमा गरेको नमूना परीक्षणका क्रममा रानिखेत रोगको संक्रमण देखिएको हो ।
आफ्ना मातहतका पाँचओटै प्रयोगशालामार्फत गरेको नमूना परीक्षणमा रानिखेत रोगको संक्रमण अन्य रोगभन्दा बढी देखिएको विभागका सूचना अधिकारी डा। चन्द्र ढकालले आर्थिक अभियान दैनिकलाई बताए ।
उनका अनुसार संक्रमण यसरी व्यापक रूपमा फैलनुका कारण यकिन भइसकेको छैन । ‘यो हाम्रो प्रकृतिमा एक स्थापित रोगजस्तै हो, यो वर्षैभरि रहिरहन्छ । तर, अहिले जसरी व्यापक रूपमा संक्रमण देखिएको छ यो भने असामान्य तरीकाले देखिएको छ,उनले भने ।
यो भाइरसका माध्यमबाट सर्ने रोग भएकाले किसानले कुखुरामा रोग देखिनुअगावै भ्याक्सिन लगाएमा रोग आफै नियन्त्रण हुन्छ । तर, कतिपय स्थानमा भ्याक्सिन लगाएका कुखुरामा समेत रोग पुष्टि भएकाले भाइरसको क्षमता परिवर्तन भएको अथवा भाइरसले भ्याक्सिनलाई जितेको हुन सक्ने अनुमान पशुसेवा विभागकोे रहेको छ ।
विभागले देशैभरका विभिन्न स्थानमा रानिखेतले व्यापक रूप लिएको बताएको छ । तिनै तहका सरकारबीच समन्वयको अभाव भएकाले हालसम्म यसको संक्रमणबाट केकति क्षति भयो भन्ने बारे यकिन तथ्यांक आउन नसकेको पशु स्वास्थ्य अनुसन्धान महाशाखा नार्कका डा. दोजराज खनालले जानकारी दिए ।
पशुपन्छीसम्बन्धी सरोकार राख्ने पशुसेवा विभाग, पशु स्वास्थ्य अनुसन्धान महाशाखा, पशु स्वास्थ्य प्रयोगशालालगायत सरकारी निकायहरूले क्षतिको विवरण संकलनमा उदासीनता देखाएपछि कखुरा व्यवसायीहरू आफैले यसको विवरण संकलन गरिरहेका छन् ।
नेपाल पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रले महासंघले अहिले विवरण संकलन गरिरहेको र अबको केही दिनमै सावर्जनिक गरिने जानकारी दिए ।
के हो रानिखेत रोग ?
रानिखेत रोग पारामेक्सो प्रजातिको भाइरसका कारण कुखुरामा लाग्ने सरुवा रोग हो । दक्षिण एशियामा यो रोग सर्वप्रथम भारतको उत्तराञ्चलस्थित रानिखेत भन्ने स्थानमा देखिएकाले यसको नामकरण पनि रानिखेत हुन गएको हो । विज्ञहरूका अनुसार यो रोग संक्रमित दाना, पानी, चराचुरुङ्गी र हावा पानीको माध्यमबाट फैलिने गर्छ ।
यसले कुखुराको श्वासप्रश्वास र स्नायु प्रणालीमा असर गर्छ, जसले गर्दा कुखुरालाई सास फेर्न समस्या हुने र चुच्चो र नाकबाट पानीजस्तो बाक्लो पदार्थ निस्कने भएकाले कुखुरामा टाउको झट्काउने, घाँटी तान्ने, फनफनी घुम्ने, खुट्टाको पक्षघात हुने, घाँटी बटार्ने, फुल पार्न कम हुनेलगायत लक्षण देखिन सक्छ ।
पशुस्वास्थ्य अनुसन्धान महाशाखा नार्कका डा.दोजराज खनालका अनुसार खोप तालिकाअनुसार रानिखेतविरुद्धको खोप लगाउनु नै यसको रोकथामको सबैभन्दा उत्तम उपाय मानिन्छ ।
यसको प्रभावबाट बच्न कुखुराको खोर वा वासस्थान सफा राख्ने, प्रत्येकपटक खोरमा नयाँ कुखुरा हाल्ने समयमा खोर राम्रोसँग सफा गर्ने वा चुना छर्केर निर्मलीकरण गर्ने, मरेका कुखुरालाई उचित स्थानमा व्यवस्थापन गर्ने, रोग लागेका कुखुरालाई छुट्टै स्थानमा व्यवस्थापन गर्ने र खोरमा जैविक सुरक्षाको व्यवस्थापन गर्नेलगायत कुरामा ध्यान दिनु जरुरी हुन्छ।आर्थिक अभियानमा -प्रशान्त खड्काले समाचार लेखेका छन्।