चिनियाँ ठेकेदार पक्ष र नेपाली मजदुरबीच कुटाकुट,६ जना घाइते

काठमाडौं,चैत ११। सडक निर्माणमा खटिएका चिनियाँ ठेकेदार र मजदुरबीच कुटाकुट हुँदा ६ जना घाइते भएका छन्।बुटवल-नारायणगढ सडक निर्माणका ठेकेदार र मजदुर पक्षबीच कार्यालय हातामा कुटाकुट भएको हो ।

 

बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत रजहरमा रहेको चिनियाँ साइड अफिसमा बुधबार अपराह्न चिनियाँ ठेकेदार पक्ष र मजदुर पक्षबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।

 

त्यहाँ जिल्ला प्रहरीबाट खटिएका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएको छ । नेपाली मजदुरहरुले चिनियाँ पक्षले आज वार्तामा बोलाएर एक्कासी कुटपिट गरेको आरोप लगाएका छन् ।

 

जिल्ला प्रहरीका एसपी प्रकाश मल्लले दुबै पक्षबीच हात हालाहाल भएको भन्ने जानकारीका आधारमा प्रहरी घटना साम्य भएको र ६ जना घाइते भेटिएकोले उनीहरुलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको जानकारी दिए ।

 

बुटवल-नारायणगढ सडक आयोजनाअन्तर्गत दाउन्ने गैंडाकोट खण्डका इन्जिनियर तथा सूचना अधिकारी कृष्ण आचार्यले माटो र डिजल चोरीको अभियोग लगाएर १३ जनाको तलव रोक्का गरेर छानबिन थालेको चिनियाँ ठेकेदार पक्षले जानकारी गराएको सुनाए ।

 

बुटवल-नारायणगढ सडक फराकिलो पार्ने कामको जिम्मा लिएको चाइना स्टेट इन्जिनियरिंग कर्पोरेसन लिमिटेड सिएससीइसीको हेल्चेक्र्याइँका कारण कामले तीव्रता पाएको छैन । १७ अर्बको लागतमा दुई वर्षअघि चिनियाँ कम्पनीले काम जिम्मा लिएको थियो ।