संक्रमण भएका १३ जिल्लामा लकडाउन,पूर्ण निषेधाज्ञा कहाँ,आंशिक निषेधाज्ञा कहाँ (सूचीसहित)

काठमाडौं,बैशाख १५ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले १० जिल्लामा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेको छ ।

 

संक्रमण गति तीव्र रूपमा फैलँदै गएपछि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत मंगलबार अबेरसम्म गरी १० मा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा आदेश जारी गरेको हो ।

 

 

गृह मन्त्रालयका उपसचिव खुमकान्त अधिकारीका अनुसार मंगलबार रातिसम्म १० मा पूर्ण तथा तीन जिल्लामा आशिंक निषेधाज्ञा आदेश भएको छ ।

 

जसअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा, कास्की र सुर्खेतमा पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ

 

 

कास्कीबाहेकमा जिल्लाभर पूर्ण रूपमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । तर, कास्कीमा जोरबिजोर लागू गरिएको छ ।यसैगरी, बर्दिया, बाग्लुङ र कालिकोटमा संक्रमण अवस्था हेरेर स्थान तोकेरै आंशिक निषेधाज्ञा आदेश जारी गरिएको छ ।

 

जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका ५ र ६, बाँसगढी नगरपालिका बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिका जयनगर र कतर्निया बजार क्षेत्रमा निषेधाज्ञा लगाइएको छ ।

 

त्यस्तै, ठाकुरबाबा नगरपालिका बगनाहा, भुरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजपुर नगरपालिका राजापुर मानपुर टपरा बजार क्षेत्रमा निषेधाज्ञा छ ।

 

यसैगरी, बढैयाताल गाउँपालिका भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा गाउँपालिका शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

 

जिल्ला प्रशासन कार्यालय बाग्लुङले नगरपालिका–३ र कालिकोट खाँडाचक्र नगरपालिका–११ मा निषेधाज्ञा जारी गरिएको छ ।

 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सीसीएमसी सिफारिस स्वीकृत गर्दै निषेधाज्ञा निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

 

सोही निर्णयका आधारमा गृह मन्त्रालयले मंगलबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको हो ।राजधानी दैनिकमा खबर छ।