भारतमा एकैदिन ३ लाख ६३ हजार भन्दा बढीमा कोरोना संक्रमण,हालसम्म ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो

सांकेतिक तस्वीर

काठमाडौँ,बैशाख १५। कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ।पछिल्लो २४ घण्टामा तीन हजार २८६ जनाको ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको हो।

 

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार बिहानसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार १६५ पुगेको छ।

 

कोरोना महामारी देखिएयता पहिलो पटक भारतमा एकै दिन तीन हजारभन्दा बढीको मृत्यु भएको हो। पछिल्लो एक सातायता दैनिक दुई हजारभन्दा बढीले ज्यान गुमाउँदै आएका थिए।

 

 

त्यस्तै, पछिल्लो २४ घन्टामा थप तीन लाख ६२ हजार ९०२ जनामा संक्रमण देखिएको छ। यो अहिलेसम्म दैनिक थपिएका संक्रमणको संख्या सबैभन्दा बढी हो। एक सातायता दैनिक तीन लाख संक्रमित थपिँदै आएका छन्।

 

 

योसँगै भारतमा सक्रिय संक्रमितको संख्या २९ लाख ७९ हजार ७६८ पुगेको छ। अहिलेसम्म एक करोड ७९ लाख ८८ हजार ६३७ जनामा संक्रमण भइसकेको छ। पछिल्लो २४ घण्टामा भारतका १५ राज्यमा १० हजारभन्दा बढी संक्रमित थपिएका छन्।

 

 

सबैभन्दा बढी महाराष्ट्रमा ६६ हजार ३६८ संक्रमित थपिएका छन्। त्यस्तै, उत्तर प्रदेश, केरला र कर्नाटकमा ३० हजारभन्दा बढी संक्रमित थपिएका छन्।

 

पश्चिम बंगालमा १६ हजार ४०३, तलिमनाडुमा १५ हजार ८३०, गुजरातमा १४ हजार ३५२ र उत्तराखण्डमा ५ हजार ७०३ संक्रमित थपिएका छन्।

 

नेपालसँग जोडिएका उत्तर प्रदेश, पश्चिम बंगाल, बिहार र उत्तराखण्ड पनि सबैभन्दा बढी संक्रमण भएका राज्यमा रहेका छन्।यसैगरी विश्वमा हालसम्म कोरोना संक्रमितकोसंख्या १४ करोड ९३ लाख १३ हजार नाघेको छ ।

 

यो समाचार तयार पार्दासम्म विश्वमा ३१ लाख ४८ हजार १७ संक्रमितले ज्यान गुमाएका छन् । विश्वमा संक्रमितमध्ये १२ करोड ७४ लाख ५१ हजार ५ सय बढीले कोरोनाको संक्रमण जितेका छन् ।

 

अहिले विश्वमा १ करोड ८७ लाख १३ हजार बढी सक्रिय संक्रमित रहेका छन । सक्रिय संक्रमितमध्ये १ लाख ११ हजार बढीका स्वास्थ्य अवस्था गम्भीर छ । कोरोनाबाट बढी प्रभाबित हुने मुलुकको सूचीमा अमेरीका पहिलो स्थानमा छ । भारत दोश्रो र ब्राजिल तेश्रो स्थानमा छ ।