राष्ट्रपतिद्धारा वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आव्हान,प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं,बैशाख २०।राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते दिउँसो १ बजे प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गर्नुभएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले विशेष अधिवेशन आह्वान गर्नुभएको हो ।

 

यसअघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले आफूमाथि संसद्को विश्वास छ वा छैन भन्ने यकिन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्ने प्रावधान छ ।

 

हालसम्म नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । यस हिसाबले सरकार प्राविधिकरूपमा बहुमतमै छ ।

 

तथापि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्रीले आफ्नो पद जोगाउन १ सय ३८ सांसदको समर्थन लिनुपर्ने हुन्छ ।

 

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १ सय २१ सिट छ भने नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९, जनता समाजवादी पार्टीको ३४ सिट छ ।

 

त्यसै गरी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा र स्वतन्त्र सांसदको १/१ सिट रहेको छ । नेपाली कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना सांसद निलम्बित छन् ।

 

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिए पनि उसले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग नयाँ सरकार निर्माणका लागि पहल गरिरहेको छ । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ ।

 

जनता समाजवादी पार्टीमा भने प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने अथवा कांग्रेस नेतृत्वको नयाँ सरकार गठन भएमा त्यसलाई समर्थन गर्ने भन्ने विवाद कायमै छ ।