अखिल (क्रान्तिकारी)द्धारा बाढी–पहिरोपीडितको तत्काल उद्धार र राहतको व्यवस्थापनसहित दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गर्दै अध्यक्ष गजुरेलव्दारा विज्ञप्तिजारी

काठमाडौं। नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले  केही दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोकलगायत देशका विभिन्न भूभागमा गएको बाढी र पहिरोले ठूलो धनजन र मानवीय क्षति भएको भन्दै विज्ञप्ति मार्फत दुख व्यक्त गरिएको छ।   

 

 

त्यस्तै ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न र घरबारविहीनहरुको खाने–बस्नेलगायत सम्पूर्ण व्यवस्थापन गर्न माग गरिएकाे छ।

 

 त्यस्तै ज्यान गुमाउनुभएका परिवारलाई उचित राहत र क्षतिपूर्तिसहित बेपत्ताहरुको खोजी कार्यको निम्ति नेपाल सरकार र सम्बन्धित निकायहरुलाई छिटाे पहलकदमी गरि सम्पूर्ण व्यवस्था मिलाउन अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा जारी प्रेस वक्तव्यमार्फत सम्बन्धित निकायहरुलाई हार्दिक अनुरोध गरिएकाे छ। 

 

बाढी–पहिरोपीडितको तत्काल उद्धार र राहतको व्यवस्थापनसहित दीर्घकालीन समाधानको खोजी गर !

 

केही दिनदेखि लगातार भइरहेको वर्षाका कारण सिन्धुपाल्चोक, मनाङ, पाल्पा, बाजुरा, डोटीलगायत देशका विभिन्न भूभागमा गएका बाढी र पहिरोले जनधनको क्षति हुनुका साथै कैयौं मानिसहरु घरबारविहीन हुनुपरेको अवस्था छ ।

 

कोशी, गण्डकी, कर्णाली, सेती, मस्र्याङ्दी, कमला, बबई, तिनाउ, महाकालीलगायतका नदीहरुमा पानीको बहाव उच्च भई बस्तीहरु डुबानमा पर्ने खतरा पैदा भएको छ ।

 

 

हरेक वर्ष बाढी–पहिरोका कारण कैयौंको ज्यान जाने र कैयौं घरबारविहीन हुने अवस्था व्यहोर्दै आइरहँदा पनि सरकारले दीर्घकालीन समाधानको वातावरण तयार गर्न नसक्नु दुःखद् पक्ष हो ।

 

 

बाढी–पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था, घरबारविहीनहरुको खाने–बस्नेलगायत सम्पूर्ण व्यवस्थापन, बाढी–पहिरोमा परी ज्यान गुमाउनुभएका परिवारलाई उचित राहत र क्षतिपूर्तिसहित बेपत्ताहरुको खोजी कार्यको निम्ति नेपाल सरकार र सम्बन्धित निकायहरुलाई हार्दिक अनुरोध गर्दछौं ।