चीनबाट सरकारले किनेको आठ लाख डोज कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले किनेको आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल आईपुगेको छ ।

नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज नेपाल आइपुगेका हो ।

चीनको सिनोफार्म कम्पनीसँग नेपाल सरकारले ४० लाख खोप खरिदको सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो ।

स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने जानकारी दिए ।

पहिलो चरणको खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो । साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खोप ६० वर्ष मुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी गरेको छ ।