फाइजरले कोरोनाविरूद्ध ‘बुस्टर डोज’ पनि बनाउने

अमेरिकी खोप निर्माता कम्पनी फाइजर इन्कले आफूले बनाएको कोरोनाभाइरसविरूद्धको खोप लगाएकाहरूका लागि बुस्टर डोज पनि बनाउने भएको छ। बुस्टर डोजलाई अनुमति दिन उसले अर्को महिना अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) मा निवेदन दिने भएको छ।

 

फाइजरले दुबै डोज खोप लगाएको ६ महिनापछि फेरि संक्रमण हुन सक्ने सम्भावना र निकै संक्रामक डेल्टा भेरियन्टको फैलावटका कारण बुस्टर डोज लगाउनु पर्ने देखिएको बताएको छ।

 

एफडिए र सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले भने संयुक्त विज्ञप्ति जारी गर्दै कोरोनाविरूद्ध पूर्ण खोप लगाइसकेका अमेरिकीहरूलाई तत्काल बुस्टर डोज नचाहिने बताएका छन्। केही अरू वैज्ञानिकहरूले पनि बुस्टर डोजको आवश्यकतामाथि प्रश्न उठाएका छन्।

 

फाइजरका चिफ साइन्टिफिक अफिसर माइकल डोल्स्टेनले पछिल्लो समय इजरायलमा फाइजर खोपको प्रभावकारिता घट्नुको कारण उनीहरूले गत जनवरी वा फेब्रुअरीमा खोप लगाउनु भएको बताए। अर्थात् उनीहरूले खोप लगाएको ६ महिना बितेकाले प्रभावकारिता कम भएको उनको भनाइ छ। इजरायलको स्वास्थ्य मन्त्रालयले गत महिना फाइजर खोपको प्रभावकारिता ६४ प्रतिशतसम्म झरेको बताएको थियो। सुरूमा फाइजरको खोपको प्रभावकारिता ९५ प्रतिशत थियो।

 

‘डेल्टा भेरियन्टविरूद्ध पनि फाइजर भ्याक्सिन निकै सक्रिय हुन्छ,’ एक अन्तर्वार्तामा डोल्स्टेनले भनेका छन्,‘तर छ महिनापछि फेरि संक्रमण हुने सम्भावना बढी हुन्छ किनभने एन्टिबडी घट्दै जान्छ।’ इजरायलमा के भएको हो भन्नेबारे फाइजरले विस्तृत तथ्यांक सार्वजनिक गरेको छैन।

‘त्यो सानो तथ्यांक हो तर मलाई लाग्छ जे देखिएको छ त्यो सही होस् खोप लगाएको छ महिनापछि डेल्टाजस्तो निकै संक्रामक भेरियन्ट फैलिएपछि फेरि संक्रमण हुनसक्छ,’ डोल्स्टेनले भनेका छन्। एफडिए र सिडिसीले भने वैज्ञानिकहरूको सल्लाहका आधारमा कहिले बुस्टर डोज लगाउने भन्नेबारे आफूहरूले निर्णय गर्न बताएका छन्।

 

अमेरिकामै पनि ८० वर्षमा थिका व्यक्तिहरूमा छ महिनापछि खोपको प्रभावकारिता घटेको फाइजरकै तथ्यांकले देखाएको डोल्स्टेनले बताएका छन्। उनका अनुसार बुस्टर डोज लगायो भने शरिरमा एन्टिबडीको मात्रा ५ देखि १० गुणासम्म बढ्ने देखिएको छ। केही युरोपियन मुलुकहरूले फाइजरको बुस्टर डोजका लागि कुरा गरिसकेको र अमेरिकामा स्वीकृति पाउनुअघि नै उनीहरूले बुस्टर डोज लगाउन थाल्ने डोल्स्टेनले जानकारी दिए।