प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, ओली पक्षका यी सांसदले गरे फ्लोर क्रस

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा ७६ को उपधारा (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले नियुक्त भएको ५ दिनमै विश्वासको मत लिएका हुन्।

 

 

 

आइतबार संसदमा भएको मतदानमा देउवाले १६५ मत पाए । यस्तै विपक्षमा ८३ मत परेको थियो । यस्तै मत दिन्न भन्ने पक्षमा १ मत परेको छ । आज कुल २४९ जना सांसदहरुको सहभागीता रहेको थियो ।

 

 

 

देउवालाई नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले मत दिएका छन्।

 

 

 

यस्तै अ‍ोली पक्षका सांसदले पनि फ्लोर क्रस गरेका छन् । ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका प्रेम आले कृष्णकुमार श्रेष्ठ किसानले देउवालाई मत दिएका हुन् ।

 

 

 

यस्तै हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विना थापामगर, धनबहादुर बुढा, समिमा हुसेन, प्रेम आले, किसान श्रेष्ठले शेरबहादुर देउवालाई मत दिएका हुन्। यी सबै यसअघि ओली पक्षका सांसद हुन्।

 

 

 

योसँगै एमालेका २२ जना सांसदले नेपालसँगै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको एमाले सांसद मेटमणी चौधरीले बताए ।

 

 

 

पाँच दलीय गठबन्धनका माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको नेपाल पक्षको समर्थन पाएपछि देउवाले पुनस्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने निर्णय गरेका थिए।