बाख्रा चराउन गएकी दुई बालिका माडी नदीमा बेपत्ता

प्यूठान । पौडी खेल्ने क्रममा प्यूठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएकी छन् ।

 

बेपत्ता हुनेमा जिल्लाको सरुमारानी गाउँपालिका–४ बैकेका बोमबहादुर थापा मगरकी आठ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुमबहादुर थापा ९मर्साङी मगर०की सात वर्षीया छोरी सर्मिला थापा मगर रहेकी जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

 

सोमबार अपरान्ह ३ बजे पौडी खेल्ने क्रममा दुबै बालिका नदीमा बगेको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार दुबै जना बाख्रा चराउन गएका थिए ।

 

घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्ने क्रममा बगेर दुबै बेपत्ता भएको स्थानीयवासीले जनाएका छन् । स्थानीय बासिन्दा र प्रहरीको टोलीले बेपत्ता बालिकाको खोजी कार्य जारी राखेको सूचना अधिकारी गैरेले बताए ।