मन्त्री छान्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यी हुन् आकांक्षी

काठमाडौं। सरकारमा क-कसलाई मन्त्री बनाएर पठाउने भन्ने विषयमा टुंगो लगाउन आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ।

 

 

बैठक दिउँसो १ बजे बस्ने माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बुधबार बिहान जानकारी दिए। बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।

 

 

माओवादी केन्द्रको भागमा उपप्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पर्ने बताइएको छ।

 

 

माओवादीबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, अञ्जना विसङ्खे, सुरेशकुमार राई र शशीले दाबी गरेका छन्। त्यसो त सुदन किराती, शिवकुमार मण्डल, हरिराम चौधरीको नाम पनि मन्त्रीको चर्चामा छ।

 

 

मन्त्रीको चर्चामा रहेकामध्ये नारायणकाजी र हरिराम राष्ट्रियसभा सदस्य हुन्। स्रोतका अनुसार माओवादी केन्द्रले सकेसम्म सातै प्रदेश समेटेर मन्त्री बनाउने भएको छ। कर्णालीबाट शर्मा, बागमतीबाट भुसाल मन्त्री भइसकेका छन्।

 

 

यसअघि माओवादीबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसालले जिम्मेवारी सम्हालिसकेका छन्। तर उपप्रधानमन्त्रीका रूपमा जान नारायणकाजी श्रेष्ठसहितले जोडबल लगाइरहेका छन्।