प्रधानमन्त्री देउवालाई,मन्त्रिमण्डल पूर्णता दिन सकस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् ।

 

 

मन्त्रिमण्डलको पूर्णता दिन सत्तासाझेदार दलहरूबीच छलफल बाक्लिए पनि निकास निस्कन सकेको छैन ।

 

 

कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले मंगलबार प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरे भने सत्ता गठबन्धन दलको बैठक बुधबार पनि बसेको छ ।

 

 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाको नेतृत्वमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले मन्त्रिमण्डल विस्तार तथा सरकार सञ्चालनका विषयमा आवश्यक सहमतिका लागि मापदण्ड बनाइनेलगायतका विषयमा छलफल गरेको छ ।

 

 

कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष दाहाल र नेता नारायणकाजी श्रेष्ठ सहभागी बैठकले मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने निर्णय पनि गरेको छ ।

 

 

 

बैठकमा जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सहभागी रहे भने सत्ता गठबन्धन बैठकमा एमालेको माधव नेपालका तर्फबाट डा। विजय पौडेल रहेका थिए।

 

 

 

प्रधानमन्त्री देउवालाई पार्टीभित्रको आन्तरिक कारण र सत्ता साझेदार दलहरूको विभिन्न कारणले मन्त्रिमण्डललाई पूर्णता दिन सकस परेको उनीनिकटका नेताहरू बताउँछन् ।

 

 

 

पार्टीबाट मन्त्री हुनेहरूको टुंगो लगाउने विषयमा प्रधानमन्त्री देउवा आफैं अप्ठ्यारोमा छन् । उनले पार्टीबाट यसअघि गृहमन्त्रीमा बालकृष्ण खाण र कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्त गरेका छन् ।

 

 

 

प्रधानमन्त्री देउवाले केही दिनअघि मात्र स्वास्थ्य राज्यमन्त्रीमा कांग्रेस समानुपातिक सांसद उमेश श्रेष्ठलाई नियुक्त गरेका छन् । राजधानी दैनिकमा खबर छ।