नेपालले दिए ओलीलाई यस्तो चेतावनी

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरी प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।

 

 

वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीप्रति संकेत गर्दै जालझेल, षडयन्त्र गरेर फेरी प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत गराएका हुन् ।

 

 

उनले भने, ‘प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस अव कसैले पनि नगरोस् । फेरी फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षडयन्त्र कसैले नगरोस् । अव जे हुनेछ पारदर्शी ढंगले हुनेछ ।

 

 

 

वरिष्ठ नेता नेपालले संविधान जोगाएर नयाँ सरकार बनाएको उल्लेख गर्दै सरकारलाई राम्रो काम गरेर देखाउन पनि आग्रह गर्नु भयो । उहाँले सही विचार आत्मसात गरेर अघि बढन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिए।

 

 

वरिष्ठ नेता नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानवीन गर्न सरकारसँग माग गरे । उनले सो घटनामा संलग्नलाई कारवाही गर्न भारत सरकारको पनि गम्भिर ध्यानाकर्षण गराए।

 

 

वरिष्ठ नेता नेपालले भने, ‘महाकाली नदीमा घटेको घटना हामीले सुन्यौं । त्यो घटना अमानवीय देखियो भनेर आएको छ । त्यसको छानवीन गरियोस् ।

 

 

ती व्यक्तिहरु, उनीहरुको बदमासीले होस् वा लापरबाहीले होस्, जुनसुकैै कारणले पनि एउटा नेपाली युवा पानीमा वेपत्ता भएको सुन्नमा आएको छ ।

 

 

 

त्यस्तालाई दण्डित गर्ने काममा भारत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । र म नेपाल सरकारले तत्काल यो कुरा उठाउने काम गरोस भनेर ध्यानाकर्षण गराउन चाहन्छु ।

 

 

वरिष्ठ नेता नेपालले आफू विचारमा अडिग भएर उभिएको नेता भएको दावी गर्दै सोही अनुसार वैचारिक अडानका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

 

उनले नेतृत्व अराजक ढंगले नचलोस् भन्नेमा सचेत रहन पार्टीका कार्यकर्ताहरुलाई आग्रह पनि गरे।