अफगानिस्तान तालिबानको हातमा छोडेर २० वर्षपछि फर्कियो अमेरिका !

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा आफ्नो सबै सेना फिर्ता गरेको छ। यस्तै अमेरिकाको लामो अफगानिस्तान मिसन समाप्त भएको छ ।

 

 

काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जेनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएको बताइएको छ। अमेरिकाले पछिल्ला केही सातामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको बताइएको छ ।

 

अन्तिम अमेरिकी विमान बाहिरिएसँगै तालिबानले काबुलको रात्रिकालीन आकाशमा रातो प्रकाश छरेर अनि मशीन गनबाट गोली चलाएर हर्षोल्लास गरेका थिए।

 

 

बीबीसीका अनुसार बाहिरिन लागेका अमेरिकी सैनिक र तालिबानका एलिट सुरक्षा गार्डहरू एउटा अप्ठेरो क्षणमा आमनेसामने भएका थिए। अन्त्यहीन युद्धपश्चात् अमेरिकी फौज फर्किन लागेपछि तालिबानको समूह विमानस्थललाई आफ्नो नियन्त्रणमा लिन आएको थियो।

 

 

विगत दुई साताजतिको अवधिमा अमेरिकी, अरू विदेशी र अफगान नागरिक गरी लगभग एक लाख २० हजार जनालाई उद्धार गरिएको थियो। बाँकी उद्धाकार कार्य भने कूटनीतिक रुपमा जारी रहने बताइएको छ । यसैबीच अमेरिकी राष्ट्रपति बाइडनले फौज फिर्तीबारे मङ्गलवार अमेरिकी जनतालाई सम्बोधन गर्दैछन्।