काँग्रेसका नेता नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त

काठमाडौँ। नेपाली काँग्रेसका नेता नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको छ। बुधबार बिहान उनले कांग्रेसको परराष्ट्र विभागका प्रमुखसमेत रहेका खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

 

खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको जानकारीसहितको पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नवनियुक्त मन्त्री खड्काको शपथग्रहण शीतल निवासमा दिउँसो १ बजे हुने सचिवालयले जनाएको छ ।

 

 

मन्त्री नियुक्तिमा देउवाले एकलौटी निर्णय गरेको भन्दै पौडेल समूहले असन्तुष्टि व्यक्त गरेको छ । अहिलेसम्म कांग्रेसबाट मन्त्री बनेका सबैजना देउवानिकट मानिन्छन् ।

 

 

देउवाले मन्त्रिपरिषद् विस्तार र पार्टीको आगामी महाधिवेशनका बारेमा छलफल गर्न भन्दै बुधबार दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएका छन् ।

 

तर पदाधिकारी बैठकअघि नै खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले पदाधिकारी बैठकअघि नै खड्कालाई मन्त्री नियुक्त गरेका हुन् ।

 

 

 

प्रधानमन्त्री देउवाले शपथ खाएको साढे दुई महिना पुग्नै लाग्दा एक मन्त्री थपेका हुन् तर सरकारका १६ मन्त्रालय अझै नेतृत्वविहीन रहनेछन् ।

 

 

संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा पठाउन प्रतिनिधि नभएपछि प्रधानमन्त्रीले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएका हुन् ।