बिपिको समाजवाद र बाटो बिर्सिएको दरूण दल

-यमराज तिमिल्सिना

नेपालका कतिपय राजनीतिक दलको भन्दा लामो इतिहास बोकेको सङ्गठन ‘तरुण दल’ आन्दोलनको मैदानबाट नेपाली जनताको मुक्तिका लागि सङ्घर्षरत नेपाली काङ्ग्रेस पार्टीको पहिलो सङ्गठन हो।

 

नेपाली काङ्ग्रेस पार्टीको भ्रातृ सङ्गठन ‘नेपाल तरूण दल’ स्थापना भएको ६८ वर्ष पूरा भएको छ । नेपाली माटो सुहाउँदो राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रणेता बिपी कोइरालाले सामाजिक क्रान्तिको बाटोबाट लोकतान्त्रिक एवम् समतामूलक संस्कृतियुक्त राज्य व्यवस्था तर्फ लैजान वि.स. २०१० कार्तिक १० गते सिंहध्वज खड्काको नेतृत्वमा ‘नेपाल तरूण दल’को स्थापना गर्नुभएको हो।

 

जहानियाँ राणा शासनको अन्त्य सँगै प्रजातन्त्र स्थापना पश्चात नेपाली राजनीतिलाई गतिशील बनाउन, युवा सरोकारका मुद्दालाई मूर्त रूप दिन र नेपाली काङ्ग्रेसको राजनीतिलाई समाजवाद उन्मुख बनाउने लक्ष्यका साथ तरूण दलको स्थापना गर्नुभएको हो।

 

 

 

तरूण दलको स्थापनामा देशैभरबाट जम्मा भएका तरुणलाई सम्बोधन गर्दै बीपीले भन्नुभएको थियो ‘अहिले विश्वमा शक्तिको नग्न होड चलिरहेको छ र तानाशाही व्यवस्थालाई ग्राह्य बनाउने हेतुले समाजवादको संज्ञा दिने प्रयत्न भइरहेको छ। समाजवाद स्थापनाका लागि आर्थिक विकास अपरिहार्य छ।

 

 

 

समाजवाद सिर्जनाका लागि उत्पादनका साधनको पूर्ण विकास र औद्योगिक उन्नति आवश्यक हुन्छ।’ समाजवाद र प्रजातन्त्रलाई एक अर्काको परिपुरक मान्ने बिपि आर्थिक विकासलाई मात्र समाजवाद भन्न नसकिने बरु व्यक्ति नै समाजवादको जीवित तत्व भएको निष्कर्ष थियो।

 

 

 

‘जुन समाजमा नागरिक स्वतन्त्रता अपहरण हुन्छ वा उनीहरूले संगठनको स्वतन्त्रता पाउँदैनन्, जहाँ न्यायालय स्वतन्त्र छैन, जहाँका नागरिकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा स्वच्छन्दतापूर्वक बहस गर्न पाउँदैनन्, त्यहाँ समाजवाद पनि रहन सक्दैन’ भन्नुहुन्थ्यो ।

 

 

यसबाट के बुझिन्छ भने बिपिको विचारमा खासगरी आँट र साहसका धनी युवा, विद्यार्थी र तरुणकै माध्यमबाट समाजवादी विचारलाई जनतासामु स्थापित गराउन सकिन्छ भन्ने पूर्ण विश्वास थियो।

 

 

तरुण दलको सभालाई सम्बोधन गर्दागर्दै बीपीलाई जेल लगिएको थियो । सम्बोधनमा विश्वमा समाजवादको अन्तिम विजय हुनेमा विश्वास प्रकट गरिरहनु भएको थियो।

 

 

राजनीतिलाई सत्ता संघर्षका रूपमा नलिनुभएको बिपि कोइराला जेल परेपछि राजा महेन्द्रको ‘कू’ का विरुद्ध टाउकोमा कफन बाँधेर शैलजा आचार्य, मार्शलजुलुम शाक्यजस्ता युवाहरू सडकमा उत्रिएका थिए ।

 

 

वि.स. २०१७ मा नेपाली काङ्ग्रेसमा अधिकांश नेताकार्यकर्ताहरू जेलमा परे,  कतिपय नेताकार्यकर्ता निर्वासित भएपछि तत्कालीन तरूण दल अध्यक्ष शिहध्वज खड्का लगायत नेता पञ्चायतमा लागे भन्ने गरिन्छ । त्यसपछि वि.स.२०५४ सम्म तरूण दल विस्थापित नै भयो ।

 

 

बेलाबेलाका आन्दोलनमा युवाहरू विद्यार्थीहरू पञ्चायत विरूद्ध एक भएर लडि नै रहे । चाहे २०३६ को विद्यार्थी आन्दोलन होस् २०४२ को सत्याग्रह आन्दोलन होस् वा २०४६ को जनआन्दोलन होस् ।

 

२०५४ मा भएको चुनावमा नेपाली काङ्ग्रेसले थोरै मात्रै सिट प्राप्त गरेपछि फेरि युवा शक्तिको आवश्यकता महशुस गरि २०५४ कार्तिक ५,६ र ७ गते नेपालगञ्जमा बसेको महासमिति बैठकले बालकृष्ण खाँडको नेतृत्वमा तरूणदलको पुनः स्थापना गर्ने निर्णय गर्‍यो ।

 

महादेव गुरूङ्ग, विनोद कायस्थ, महेन्द्र यादव, उदय शमशेर राणा हुँदै जितजङ्ग बस्नेत अध्यक्ष भइसकेका छन् ।

 

बिपिले भन्नुभएको छ ‘तरूणहरू,भनेका विद्यार्थी जस्ता होइनन् र पार्टीका नेता जस्ता पनि होइनन्, तरूणहरू भनेको फरक खालको युवाहरूको क्याडरबेस अर्गनाइजेसन हो ।’

 

 

त्यस्तै सन्त नेता कृष्णप्रसाद भट्टराईका अनुसार ‘तरूण दल काङ्ग्रेसको भ्रातृ संस्था होइन, साथी संस्था हो’ यसबाट पनि के बुझिन्छ भने सस्थापक नेताहरूको चाहाना तरूण दललाई विचारमा आधारित, सबल, सक्षम र सशक्त एक सङ्गठनका रूपमा लिएका थिए भन्ने बुझिन्छ ।

 

 

 

आखिर युवाहरू वुद्धि, विवेक, साहस, ऊर्जा, सिर्जनशीलता र  लगनशीलताका प्रतीक हुन् । युवालाई मौका दिइयो भने समाज र देशको मुहार फेर्न सक्ने क्षमता हुन्छ । किनभने युवामा समयानुकूल केही फरक गर्नुपर्छ भन्ने एक प्रकारको भित्र हुटहुटी चलिरहेको हुन्छ । 

 

 

तरूण दलको विधानको परिच्छेद ‘२’मा ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरूण एकताप्रति प्रतिबद्ध रहने, नेपाली समाजलाई सम्बृद्धि र आधुनिक समाजमा रूपान्तर गर्नका लागि स्वाभीमानी, कर्तव्यशील र परिश्रमी पुस्ताको जग बसाउने, समाजमा विद्यमान सामाजिक कुरीति, सामन्ती सोचाई र संस्कार विरूद्ध संघर्ष गर्ने गराउने,स्वतन्त्र, समुन्नत, भयमुक्त र समतामूलक समाजको निर्माण गर्ने गराउने,विश्व शान्ति, भ्रातृत्व, प्रगति तथा अन्तर्राष्ट्रिय तरूण ऐक्यवद्धता र मैत्रीका निमित्त समर्पित रहने देखि वर्तमान अवस्थामा देशको युवाहरूको ठूलो हिस्सा लागुऔषध लगायत दुर्व्यवसन शिकार भइरहेकोले लागुऔषध र अन्य दुर्व्यवसनबाट युवाहरूलाई मुक्त पार्नका लागि दुर्ववसनीको अन्त्य अभियान सञ्चालन गर्ने गराउने’ सम्मका १७ वटा उद्देश्यहरू राखिएका छन् ।तर तरूणका व्यवहार हेर्ने हो भने एक अर्कालाई कसरी पछार्ने भन्ने मात्रै देखिन्छ ।

 

 

पार्टीका सङ्घ सङ्गठनमा लोकतान्त्रिक प्रक्रियाबाट नभइ टिके प्रथाबाट नेतृत्व चयन गर्ने गलत प्रवृत्ति बस्यो । जसले गर्दा लोकतान्त्रिक पद्धतिबाट नेतृत्वमा पुग्नपर्ने अनुशासन नै भङ्ग हुनपुग्यो ।

 

 

त्यसले आम कार्यकर्ता र जनताको माझमा भिजेकाहरूभन्दा शीर्ष नेतृत्वको वरिपरि रहने, बिहान बेलुका घर धाइरहने, गुणगान गाइरहनेहरूले अवसर पाउने वातावरणको सिर्जना हुनपुग्यो ।

 

 

 

अनि सङ्गठन स्वत: कमजोर हुने नै भयो । पछिल्लो समय जे जसरी तरूण सञ्चालन हुनुपर्ने हो त्यसरी हुनसकिरहेको छैन। सङ्गठन चलायमान भएको नदेखिनु अन्य थुप्रै कारणहरू भए पनि लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्वमा नपुग्नु प्रमुख एक कारण हो भन्न सकिन्छ ।

 

 

वि.स. २०७३ मङ्सिरमा पोखरामा भएको चौँथो अधिवेशनले नयाँ नेतृत्व चुन्न सकेन । पार्टीमा गुटको आधारमा चार पदको भागवण्डा गरियो भन्दा अर्को अर्थ नलाग्ला ।

 

 

अध्यक्ष एउटा गुटको, उपाध्यक्ष अर्को गुटको, महासचिव अर्कै गुटको अनि कोषाध्यक्ष अर्कै गुटको गरेर बल्लतल्ल चारजना पदाधिकारी चयन भए । ९५ जनाको केन्द्रीय समिति गठन हुन सकेन ।

 

 

भागवण्डाबाट आएका पदाधिकारीहरुबीच सङ्गठनलाई चलायमान, चुस्त दुरुस्त, सक्षम, सबल र अब्बल बनाउनुको साँटो आफू निकटकालाई केन्द्रीय समितिमा ल्याउन होडबाजी चल्यो ।

 

 

विवादमै दुई वर्षे कार्यकाल सकियो सँगै समय थप गरियो । देश कोरोना महामारीले आक्रान्त भइरहेका बेला मुलुक भित्र र बाहिर रहेका तरुणहरू स्वस्फूर्त सहयोगमा उत्रिए ।

 

 

सङ्गठनात्मक रूपमा तरूण दल चलायमान हुन सकेन किनभने अध्यक्ष र महासचिव नै एकअर्काको निर्णय उल्टाउन तिर लागे ।

 

 

एकअर्कालाई सङ्गठनबाट निष्कासन गरेको भन्दै वक्तव्यबाजी गरे । बहुसङ्ख्यक शीर्ष नेताहरु विद्यार्थी र तरुण राजनीतिबाटै आएका हुन् तर शीर्ष नेताहरु विवाद मिलाउन भन्दा झन् आफू निकटका लाई मलजल गर्नपट्टि लागे । तरूण दल विवादै विवादमा रूमल्लियो । 

 

 

तरुण दलको स्थापना गर्दा बीपीको एउटा सपना थियो ‘प्रजातान्त्रिक समाजवादी विचारलाई युवाका माध्यमबाट जनतामा स्थापित गराउने ।’ तर अहिले माउ पार्टीले नै तरूणलाइ अन्योलको स्थितिमा रूमल्याइ रहेको आरोप लाग्दै आएको छ ।

 

 

खासमा पार्टीले नै  आमनिर्वाचनका बेलामा पनि आशालाग्दा युवालाई तरुण दलका माध्यमबाट परिचालन गर्न सकेको देखिएन ।

 

 

त्यस्तै स्थानीय तहदेखि केन्द्रसम्म बग्रेल्ती भ्रष्टाचारका कुराहरू बाहिरिए खासै त्यतातिर ध्यान केन्द्रित गर्नपनि सकेन।महङ्गीले दिनानुदिन आकाश छुदै गएको छ ।

 

 

सर्वसाधारण जनताका दैनिक प्रयोग हुने तरकारी, खाद्यपदार्थ, ग्याँस, यातायातको भाडा आदिले कष्टकर भइरहेको छ । मानवअधिकार हननका कयौं घटना भइरहेका छन् ।

 

 

स्वयम् अदालतबाट गम्भीर अपराधका व्यक्तिलाई उन्मुक्ति दिने काम भएको छ । पार्टीले त्यस्ता आम सरोकारका विषयमा सशक्त आवाज उठाउनुपर्ने युवा तरूणलाई परिचालन गर्न सकिरहेको छैन ।

 

 

राज्य सरकारलाई सही बाटोमा हिँडाउन भूमिका खेल्नुपर्ने र शान्तिपूर्ण रूपमा सडकमा निस्किनुपर्नेमा तरुण दल आफै आन्तरिक विवादमा रूमल्ली रहेको छ ।

 

 

सुरूसुरूमा काङ्ग्रेसलाई संसदमा ठूलो दलका रूपमा उभ्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको तरूण पछिल्लो समयमा आएर पार्टीको अन्य निकायमा भूमिका नपाएका केही थान युवालाई थन्क्याउने मञ्च मात्रै बन्न पुगेको छ भन्दा अन्यथा नहोला ।

 

 

 

बीपी कोइरालाले सबैभन्दा बढी आशा भरोसा गरेको पहिलो सङ्गठन तरुण दल आज वैधानिक अस्तित्वमा मात्र सिमित छ चलायमान छैन ।

 

 

नेपाली काङ्ग्रेसलाई सशक्त जुझारु बनाउन तरुण दल सक्षम, विश्वसनीय र प्रतिभावान युवाहरूको मञ्च बन्नै पर्छ । माउ पार्टीको मात्रै होइन आम जनताको मन मस्तिष्कमा बस्न सक्ने सिर्जनशील काम गर्न सक्नुपर्छ ।

 

 

 

विश्व राजनीति रङ्गमञ्चबाट हराउँदै गएका वामहरूको वर्चस्व नेपाली राजनीतिमा बढ्दै जानु वामहरूको असल कामभन्दा पनि काङ्ग्रेसको असफल नीति मुख्य जिम्मेवार छ भन्ने कुरा नेपाली काङ्ग्रेसले समयमै बुझ्न जरुरी छ ।

 

बिपिको समाजवादतिर जाँदा :प्रजातन्त्र र समाजवाद फरक फरक शब्द हुन् । प्रजातन्त्रले शासन व्यवस्थालाई हेर्छ भने समाजवादले आर्थिक व्यवस्थालाई ।

 

 

विपीले परिकल्पना गरेको समाजवाद स्रोत र साधनको मालिक जनता र शासनको मालिक पनि जनता हुनुपर्छ भन्ने हो ।

 

 

पुँजिवादमा राज्यमा उपलब्ध स्रोत, साधन, उत्पादन र वितरण व्यक्तिहरूमा मात्र सीमित हुन्छन् त्यसले सबैको भलाइ गर्दैन । हुनेखाने र हूँदा खाने अन्य तत्वहरूले धनी र गरिब बिचको खाडल रहिरहन्छन्, समानता कहिलै हुदैन ।पुँजीपति वर्गले श्रमिक वर्गमाथि सधै शोषण गरिरहन्छ ।

 

 

 

श्रमिकले श्रमको उचित मूल्य कहिल्यै पाऊदैन । धनी र गरिब बिचको समाजमा असमानता रहिरहन्छ त्यसको विपरित समाजवादले सामाजिक स्वामित्व हुनुपर्छ भन्ने मान्यता राख्दछ त्यसैले नेपालमा समाजवादको अपरिहार्यता छ भन्नुहुन्थ्यो ।

 

 

 

प्रारम्भमै घोषणापत्रमा संविधान सभाको निर्वाचन, त्यसबाट गठित संविधानसभाका सदस्य, जनप्रतिनीधिहरुबाट नेपाली जनताको गरिबी, अभाव, पछौटेपन भोक, रोग, अशिक्षा, रुढीवाद, कुरीति, सबैखाले शोषण र कुप्रथाबाट आक्रान्त अनगिन्ती नेपालीहरुको अनुहार, दिनचर्या र अबस्थालाई हेरेर राष्ट्र वा सरकारले त्यसकालागि प्रजातान्त्रिक, संविधान र कानुनको निर्माण विधिको शासन नेपालको अवस्था र परिवेशले खोजेको प्रभावकारी योजना र कार्यक्रमको तर्जुमा र कार्यान्वयनको सुन्दर सपनालाइ साकार पार्ने अठोट गर्नु भएको थियो ।

 

 

सपनालाई पुरागर्न युवाको आवश्यकता महशुस गरिएको थियो ।बिपिको समाजवाद कृषिमा आधारित र सक्षम युवा परिचालित समाजवाद हो त्यसभित्र उद्यम गर्नु, सिर्जनशील बन्नु हो ।

 

 

तर आजका युवा तरूण न त उद्यम गर्न रूचाउँछन् न सिर्जनशीलता नै छ । अधिकांश युवाले राजनीतिलाई मागी खाने भाँडो बनाएका छन् ।

 

 

जसका कारण राजनीति फोहोरी खेल हो भन्नेहरूको सङ्ख्या बढ्दो छ । योग्यहरू राजनीतिकबाट टाढिदै गएका छन् भने राजनीतिलाई कमाइ खाने भाँडो ठान्नेहरू मौका छोप्दै भित्रीएका छन् ।

 

 

समाज र राष्ट्रलाई समुन्नत दिशातर्फ डोर्‍याउन राजनीतिप्रति सकारात्मक भाव जगाउदै युवाहरूलाई उद्यमशिलतामा जोड दिनुपर्ने आवश्यकता देखिन्छ ।

 

 

बिपिले भन्नुभएको छ ‘नेता मान्नुहोस्, नेता स्वीकार गर्नुहाेस्, तर नेताका नाममा तपाईंलाई चाकरी बाज ठान्नेलाई सजक नि गराउनुहाेस् ।

 

 

त्यसैले बिपिका सच्चा अनुयायी हौं भन्नेले आफ्ना नेताका गलत क्रियाकलापको खुलेर आलोचना गर्न सक्नुपर्छ । नेताको गलत क्रियाकलापको आलोचना गर्दा आफूलाई बेफाइदा हुने हो कि भन्ने ठानेर गलत कुराको बचाउतिर लाग्नु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु सरह हो ।

 

 

त्यस्ता क्रियाकलापले तत्काल फाइदा भएपनि दीर्घकालीन रूपमा असर पर्छ । समाजले सहि र गलत के हो नियाली रहेको हुन्छ । विश्वाशिला ठानिएका व्यक्तिहरू पनि समाजको नजरबाट गिर्ने गर्दछन् ।

 

 

जो पार्टीमा गलत क्रियाकलापकाे खुलेर अालाेचना गर्न सक्छन् ती साँच्चिकै पार्टीका शुभचिन्तक र पार्टीका सम्पत्ति हुन्छन् ।