महाधिवेशनको उत्साह र ऊर्जालाई चुनावसम्मै लैजाऊँ : प्रधानमन्त्री देउवा

काठमाडौं ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सहभागी हुन देशैभरिबाट उत्साहपूर्वक काठमाडौँ आएका नेता, कार्यकर्ताहरूलाई यही उत्साह र उर्जालाई आगामी चुनावसम्मै लैजान आग्रह गर्नुभएको छ ।

 

 

 

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ पुस्तकको आज यहाँ विमोचन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, यो महाधिवेशनमा कांग्रेसका कार्यकर्तामा देखिएको ऊर्जालाई आगामी निर्वाचनसम्म लानुपर्छ र कांग्रेसलाई बहुमतप्राप्त पार्टी बनाउने कार्यमा तपाईँहरू सबै लाग्नुपर्छ ।

 

 

 

पुस्तक विमोचन समारोहमा उपस्थित नेपाली कांग्रेसका सयौँ महाधिवेशन प्रतिनिधिसँग उहाँले सकेसम्म सहमतिका आधारमा महाधिवेशनबाट नेतृत्व चयन गर्ने बताउनुभयो ।

 

 

 सकेसम्म हामी सहमतिबाटै नेतृत्व चयन गर्नेछौँ नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने हो । तर पनि प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविकरूपमा लिएर कुनै पनि प्रकारको कटुता राख्नु हुँदैन ।

 

 

 

जित्नेले पनि हार्नेलाई समेट्नुपर्छ, हार्नेले पनि सहयोग गर्नुपर्छ, यसलाई प्रजातान्त्रिक प्रक्रियाका रूपमा लिनुपर्छ, कुनै पनि प्रकारको कटुता, मनोमालिन्य राख्नु हुँदैन, असहिष्णु बन्नु हुँदैन ।

 

 

 

प्रधानमन्त्री देउवाले १४औँ महाधिवेशन नेपाली कांग्रेसका मात्र नभएर नेपालको प्रजातान्त्रिक भविष्यका लागि पनि एक महत्वपूर्ण अवसर भएको बताउनुभयो ।

 

 

 

 महाधिवेशन सफल पारेर फर्किएर नेपाली कांग्रेसलाई बलियो बनाउने र अबका सबै निर्वाचनहरूमा बहुमत हासिल गर्ने बनाउन साथीहरू लाग्नुहुनेछ ।

 

 

कार्यक्रममा प्रधानमन्त्री देउवाले सहमहामन्त्री डा महतले बिपी कोइरालाको सरकारको अर्थव्यवस्थाका विषयमा पुस्तक लेखेर प्रसंशनीय काम गरेको बताउनुभयो । उहाँले डा महतलाई मेहेनती र आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने व्यक्ति भनेर टिप्पणी पनि गर्नुभयो ।

 

 

 

सहमहामन्त्री डा महतले लेखेको ‘नेपाली कांग्रेस र नेशन बिल्डिङ’ नामक पुस्तक बिपी कोइराला प्रधानमन्त्री रहेको नेपालको पहिलो जननिर्वाचित सरकरको अर्थव्यवस्थाका बारेमा रहेको छ ।

 

 

सोही विषयमा डा महतले त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयको स्नातकोत्तरको शोध तयार गर्नुभएको र यसै विषयको केही संशोधित सागम्रीसहित पुस्तकका रूपमा प्रकाशन गरेको डा महतले जानकारी दिनुभयो ।

 

 

उहाँले त्यस समयमा नेपाली कांग्रेस पार्टी प्रतिबन्धित रहेको र उक्त विषयमा शोध तयार गर्न पनि निकै कठिन अवस्था रहेको भए पनि आफूले बिपी कोइरालाले नेपालमा प्रजातान्त्रिक समाजवादको अवधारणा के कसरी भित्र्याउनुभएको थियो भन्ने विषयमा आफ्नो शोध केन्द्रित गरेको बताउनुभयो ।

 

 

 

साथै त्यस समयमा समाजवादी विचारमा बिपी कोइरालाको सरकारले के–कस्तो अर्थनीति अँगाल्ने प्रयास गरेको थियो भन्नेबारेमा अनुसन्धान गर्न आफू इच्छुक रहेकाले सोही विषयमा शोध तयार पारेको र अहिले पनि समाजवादी अवधारणाको महत्व उत्तिकै रहेकाले पुस्तकका रूपमा प्रकाशन गरेको डा महतले बताउनुभयो ।