नेपाल प्रहरी भर्नामा नयाँ मापदण्ड: ईन्स्पेक्टर र असई भर्नामा ५०/५० प्रतिशत लागु हुने

काठमाडौं । नेपाल प्रहरीको भर्नामा नयाँ प्रावधान लागु गर्न प्रहरी प्रधान कार्यालयले प्रस्ताव गरेको छ । प्रहरी नियमावली संशोधन गरी नयाँ प्रावधान लागु गर्न प्रस्ताव गरेको हो ।

 

 

 

प्रहरी प्रधान कार्यालयले दुई दिन अघि मात्रै नेपाल प्रहरीको ईन्सपेक्टर र असई भर्नामा नयाँ मापदण्ड लागू गर्न प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

 

 

 

प्रहरी नियमावली संशोधन गरी रिक्त पदमध्ये ५० प्रतिशत भर्नाबाट तथा ५० प्रतिशत बढुवाबाट पदपुर्ति हुने व्यवस्था गर्न लागेको हो । प्रहरी नियमावली अनुसार हाल नयाँ भर्नाबाट ६० प्रतिशत र आन्तरिक बढुवाबाट ४० प्रतिशत पदपुर्ति हुँदै आएको छ ।

 

 

 

आन्तरिक बढुवामा लामो समय जाम पर्ने र तल्लो तहका प्रहरीको वृत्ति विकासमा समस्या भएपछि प्रहरी नियमावली संशोधन गरी सो प्रावधान लागु गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

 

 

हाल मन्त्रिपरिषद्को विधायन समितिमा रहेको प्रहरी नियमावली संशोधनको मस्यौदामा यो प्रावधान राख्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

 

 

 

यो विषयमा प्रहरीभित्र लामो समयदेखि बहस हुँदै आएको थियो । काम गर्ने बेलामा तल्लो तहका कर्मचारी प्रयोग हुने तर बढुवामा भने प्रहरी निरीक्षक माथिकालाई मात्र अवसर आउने भएपछि प्रहरी प्रधान कार्यालयमा लामो समयसम्म छलफलको विषय बनेको थियो ।

 

 

 

‘यो नियमावली संशोधन भयो भने तल्लो तहका प्रहरी कर्मचारीमा निकै आकर्षण बढ्नेछ’, एक प्रहरी अधिकारीले भने ।